Nic Ad Nic Ad
Nic Ad Nic Ad

परराष्ट्र मन्त्री डा.राणा छन्दुस्थित महावाणिज्यदूतावासमा

शुक्रबार, मंसिर १४, २०८१

काठमाडौँ - परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले आज चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गरिन् । 

त्यस अवसरमा उनलाई महावाणिज्यदूत सुरेश राउतसहितका कर्मचारीहरूले स्वागत गरेका थिए । मन्त्री डा.राणालाई महावाणिज्यदूत राउतले महावाणिज्यदूतावासका कामकारबाहीका बारेमा जानकारी गराएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री डा.राणाले आगामी वर्ष नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल र चीन सरकारद्वारा संयुक्त रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२५ को स्मरण गराउँदै यस पृष्ठभूमिमा महावाणिज्यदूतावासलाई नेपालको पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन्  । 

यस कार्यक्रमबाट दुवै देशको पर्यटन प्रवर्द्धन हुनुका साथै जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास उनले व्यक्त गरिन् । मन्त्री डा.राणाले नेपाली चिया, कफी, औषधिजन्य तथा सुगन्धित जडीबुटीजस्ता नेपालका विशिष्ट उत्पादनहरूलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने कार्यमा लाग्न निर्देशन दिइन् । 

त्यस अवसरमा मन्त्री डा राणाले नेपाल चीन सम्बन्धलाई आर्थिक, सांस्कृतिक तथा जनस्तरमा थप सुदृढ बनाउनुपर्नेमा जोड दिएकी थिइन् । महावाणिज्यदूतावासमा आयोजित अन्तरक्रियामा चीनका लागि नेपाली राजदूत डा.कृष्णप्रसाद ओलीलगायत पनि सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्