क्यान सचिव पारस खड्काको अनुरोध– एनपीएलको भोलीको टिकट सकियो, डिजिटल माध्यममा हेर्नू
काठमाडौं– नेपाल प्रिमियर लिग(एनपीएल)को उद्घाटन खेलको टिकट सकिएको बताउँदै नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले वैकल्पिक विधि अपनाउनका लागि अनुरोध गरेका छन्।
‘क्रिकेट संघ नेपालले आयोजना गरिरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो म्याचका टिकट र भिआईपी पासहरू सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौं’, खड्काले भनेका छन्।
उनले अगाडि जोडेका छन्,‘भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौं। कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नुहुन हार्दिक अनुरोध गर्दछौं।’
उनले बाँकी खेलहरूको लागि पनि अवसर हुने बताउँदै भनेका छन्,‘यहाँहरूको समर्थन निरन्तर रहोस्, र भविष्यमा पर्याप्त पूर्वाधारको साथ सबैलाई समेट्न सक्ने नेपाल क्रिकेट संघ बन्ने हाम्रो प्रयास जारी रहनेछ।’