नेभिगेशन
सुरक्षा–अपराध

लरेन्स विश्नोईको नाम लिएर व्यावसायी धम्क्याउने व्यक्ति दुर्गा प्रसाईंबाट परिचालित भएको भेटियो

काठमाडौं– भारतीय गुन्डा नाइके लरेनस विश्नोईको नाम लिएर नेपालका व्यावसायीलाई सिध्याउने धम्की दिने व्यक्ति दुर्गा प्रसाईंबाट परिचालित भएको भेटिएको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विहीबार झापाको चार आलीमा पक्राउ गरिएका व्यक्तिले प्रहरीमा प्रसाईंकै निर्देशनमा यस्तो काम गरेको बयान दिएका छन्। 

सीआईबीका अनुसार झापा मेचीनगर–६ बस्ने नविन प्रधान भन्ने हरिचन्द्र फुयाँललाई पक्राउ गरी काठमाडौं ल्याइएको छ।

सीआईबीले भनेको छ,‘प्रहरी टोलीले पक्राउ गरी ल्याई प्रारम्भीक अनुसन्धान गर्दा प्रतिबादीले भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरुलाई धम्की दिने कार्य मेडिकल ब्यावसायी दुर्गाप्रसाद प्रसाईको निर्देशनमा गरेको साथै यसभन्दा अगाडि समेत बिभिन्न कसुरमा संलग्न भई फरार रहेको खुल्न आएको। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको।’

फुयाँलको साथबाट भिभो र रेडमीका एक–एक थान फोन भेटिएको छ। 

पूर्वी नेपालसँग नाका जोडिएको वेस्ट बंगालबाट फोन गरी व्यावसायीलाई धम्की दिने फुयाँललाई भारतबाटै पक्राउ गरिएको हो। 

सीआईबीले भारतीय नाका नजिक चारआली भनेको छ।

फुयाँलले दुर्गा प्रसाईँ नेतृत्वको दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भनेर धम्की दिने गरेका थिए। 

गुन्डा नाइके विश्नोईको नाम लिएर नेपालका व्यवसायीलाई धम्कीपूर्ण १४१ कल आएको विवरण सतहमा थियो। 

बैंकर र अन्य व्यवसाय गर्नेहरू मध्येका ६ जनाले आफूलाई धम्कीपूर्ण फोन आइरहेको भन्दै प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध