एनपीएल : यस्तो रहेछ शिखर धवन र कर्णाली याक्सबीचको समझदारी, तलब पनि खुल्यो
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली कर्णाली याक्सको चर्चाको मुख्य कारण बनेका भारतीय पूर्वओपनर शिखर धवनको अनुबन्धन थियो।
धवनसँग सम्झौता भए पनि कस्तो समझदारी बनेको थियो भन्ने विषय गोप्य नै रहेको थियो।
स्रोतका अनुसार कर्णाली याक्सले धवनलाई प्रत्येक खेलको ३० हजार अमेरिकी डलर दिने सम्झौता गरेको छ। धवनले एनपीएलमा कर्णाली याक्समा कम्तिमा चार खेल खेल्ने र इच्छा लागे अन्य खेल पनि थपिन सक्ने बताइएको छ।
भारतको राष्ट्रिय टोलीबाट खेलिसकेका कुनै पनि भारतीय खेलाडी नेपाल आएर फ्रेन्चाइज टोलीबाट खेल्न लागेको यो पहिलो पटक हो।
३८ वर्षीय बायाँ हाते ब्याटर धवनलाई कर्णाली याक्सले अनुबन्ध गरेसँगै एनपीएल चर्चा झन् चुलिएको देखियो।
‘गब्बर’ उपनामले चर्चित धवन भारतीय राष्ट्रिय टोलीबाट होस् वा आईपीएलमा, गजबको छाप छोडिसकेका छन्।
३४ टेस्ट, १६७ एक दिवसीय र ६८ टी–२० आई खेलिसकेका उनी कीर्तिपुर मैदानमा देखिने चर्चित विदेशी अनुहारमा पहिलो नम्बरमा देखिएका छन ।
आइपीएलमा सनराइज हैदराबादलाई च्याम्पियन बनाउँदाका टोलीका मुख्य खेलाडी धवनले नेपाली दर्शकमाझ राम्रो छाप छोड्ने अनुमान गर्न सकिन्छ।
लामो प्रयासपछि धवनलाई कर्णाली याक्सका भित्राउन पाएकोमा उत्साहित कर्णालीका निर्देशक गृहेन्द्र घिमिरेलाई उदृत गर्दै बीबीसी नेपाली न्यूज लेख्छ,‘धवनको धमाकाले एनपीएलमात्र होइन, समग्रमा नेपाली क्रिकेटलाई फाइदा पुग्ने हामीलाई विश्वास छ।’ धवनले राष्ट्रिय टोलीबाट बिदा लिएको २ वर्षभन्दा बढी भइसकेको छ।