के कांग्रेस महामन्त्री गगन थापाले ‘सफेद झूठ’ बोलेका हुन्, यसो भन्छन् माओवादी अध्यक्ष प्रचण्ड
काठमाडौं– हप्तामा एक पटक कांग्रेस सभापति शेरबहादुर देउवालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्नका लागि प्रस्ताव गरेको भन्ने महामन्त्री गगन थापाको टिप्पणीमा प्रत्युत्तर आएको छ।
माओवादी अध्यक्ष प्रचण्डले थापाको उक्त भनाईको खण्डन गरेका हुन्। खुमलटारमा शनिबार प्रचण्डले थापाको भनाईलाई सफेद झूठ भनेका हुन्।
किर्तिपुरको उपनिर्वाचनको चुनावी प्रचारको अन्तिम सभामा थापाले त्यस्तो बताएका थिए।
त्यसको उत्तरमा प्रचण्ड भन्छन्,‘सत्ता परिवर्तनको कुरा अघि बढाएको कुरा बिल्कुल होइन। यो भन्दा सफेद झुट अरु केही हुनै सक्दैन। मैले त अहिले बोल्न पनि चाहिरहेको थिइनँ, यो विषयमा।’
गगन थापालाई एउटा युवा नेताको रुपमा संवाद, सहकार्य हुने गरेको स्मरण गरेका प्रचण्ड जोड्छन्,‘अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र उहाँले यति तल झरेर हुँदै नभएको झुटो कुरो जनतासँग बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ। कति तल कति छिटो झर्न सकेको हो।’
राम्रो सम्भावना बोकेको युवा नेता यति छिटो, यति अनैतिक र झुटो कुरा गर्नसक्ने भएको देख्दा दया लागेको उनको भनाइ छ। देउवालाई बरु आफूले ०८४ सम्म तपाईहरु नै मिलेर सरकार चलाउनुस् भनेर सुझाव दिएको प्रचण्डले बताए।