जनकपुर बोल्ट्सलाई जिताउन ७५ रन हान्ने मिलान्थाको नेपाली क्रिकेटसँगको साइनो
काठमाडौं– शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा बिराटनगर किङ्सलाई पराजित गर्नका लागि लाहिरु मिलान्थाको भूमिका बलियो बन्यो।
उनी ब्याटर र विकेट किपरको भूमिकामा खेल्छन्। एनपीएलको उद्घाटन खेलमा उनले विराटनगर किङ्सविरुद्ध ५३ बलमा ७५ रन बनाउँदै ‘प्लेयर अफ दी म्याच’ बनेका छन्।
उक्त खेलमा उनले ९ चौका र ३ छक्काको मद्दतले उत्कृष्ट प्रदर्शन गरेका थिए, जसले जनकपुर बोल्ट्सलाई ८ विकेटको सहज जित दिलायो।
लाहिरु मिलान्था यसअघि श्रीलंका ‘ए’ टीमबाट पनि खेलिसकेका हुन् र हाल अमेरिकी क्रिकेट संघसँग आबद्ध छन्। नेपाली क्रिकेट लिगमा उनको सहभागिताले लिगको स्तर र अन्तर्राष्ट्रिय पहुँचमा समेत सुधार हुने विश्वास गरिएको छ।
जनकपुर बोल्ट्समा अनुबन्ध हुने मिलान्था चौथो विदेशी खेलाडी थिए। बोल्ट्सले न्युजिल्यान्डका प्रसिद्ध क्रिकेटर जिमी निसम, जोसुआ ट्रम्प र मोहम्मद मोहसनीलाई टीममा राखेको छ। लाहिरूजस्तै ट्रम्प र मोहसिन पनि अमेरिकी बेस क्रिकेटर हुन्।
मिलान्था नेपाली भूमिसँग परिचित रहेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि गरेको नेपाल टी–२० लिगमा ‘लुम्बिनी अल स्टार’बाट खेलेका थिए।
अल स्टार टोलीलाई विजयी बनाउने क्रममा मिलान्थाले १२२ माथिको स्ट्राइक रेटमा ३४९ रन बनाएका थिए। उनी सो प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा थिए। मिलान्थाले फाइनलमा २८ बलमा सर्वाधिक ४१ रन बनाएका थिए। त्यसैले यसअघि नै नेपाली क्रिकेटसँग उनको साइनो गाँसिसकेको छ।