Nic Ad Nic Ad
Nic Ad Nic Ad

हिजो ग्रामथानमा कांग्रेसद्वारा आचारसंहिता उल्लङ्घन, रास्वपाका कार्यकर्तामाथि हातपातको आरोप

आइतबार, मंसिर १६, २०८१

मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको अघिल्लो दिन निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै नेपाली कांग्रेसले भेला आयोजना गरेको विषयलाई लिएर विवाद भएको छ।  

शनिबार दिउँसो ग्रामथान गाउँपालिका–६ मा कांग्रेसले निर्वाचन आचारसंहिताविपरीत भेला आयोजना गरेको जानकारी पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता पुगेका थिए। रास्वपाका कार्यकर्ताले भेलाको भिडियो खिच्न खोज्दा कांग्रेस कार्यकर्ताले आक्रोशित हुँदै उनीहरूमाथि हातपात गरेको आरोप छ।  

रास्वपाका अध्यक्ष पदका उम्मेदवार नवीनकुमार विश्वासले आचारसंहिताको उल्लङ्घन हुँदा पनि आफ्नो पार्टीका कार्यकर्तामाथि शारीरिक आक्रमण हुनु दुःखद भएको बताए। 'कांग्रेसले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै भेला मात्र गरेन, हाम्रो पार्टीका सदस्यहरूमाथि हातपात गर्न पनि पछि परेन,' विश्वासले भने।  

रास्वपाले घटनाको विषयमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेको छ। विश्वासले कांग्रेसको गतिविधि सार्वजनिक गर्न खोज्दा उनीहरूले अनावश्यक विवाद सिर्जना गरेको आरोप लगाए। 'आचारसंहिता लागिसकेको अवस्थामा यसरी भेला गर्नु गलत हो। यसलाई जब हामीले उजागर गर्न खोज्यौं, त्यसलाई ढाकछोप गर्न हातपात गरियो,' उनले थपे।  

रास्वपाले कांग्रेसले भेला गरेर माइन्युटसमेत गरेको दाबी गरेको छ, जसको भिडियो प्रमाण उनीहरूका कार्यकर्ताले सार्वजनिक गरेका छन्।  

सार्वजनिक भिडियोमा कांग्रेसका नेताहरू बैठकमा सहभागी भएको देखिन्छ। रास्वपाले यो गतिविधिलाई लोकतान्त्रिक मूल्यमान्यताविपरीत भएको भन्दै निर्वाचन कार्यालयसँग निष्पक्ष कारवाहीको माग गरेको छ।  

ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि नवीनकुमार विश्वास रास्वपाका उम्मेदवार हुन्। उनले ग्रामथानमा स्वच्छ र पारदर्शी निर्वाचन सुनिश्चित गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  ०५:४६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार