झिँ-टोड्के सडक स्तरोन्नति सुरु
म्याग्दी - रघुगंगा मंगला गाउँपालिका र बेनी नगरपालिकाको सीमा क्षेत्रमा रहेको पर्यटकीय स्थल टोड्के पुग्ने सडक स्तरोन्नति प्रारम्भ भएको छ ।
हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको अवलोकनका लागि नयाँ गन्तव्यका रूपमा विकास भएको टोड्के भ्रमणमा जाने पर्यटकका साथै स्थानीयवासीको सहजताका लागि रघुगंगा गाउँपालिका-५ झिँबाट सडक स्तरोन्नति प्रारम्भ गरिएको हो ।
रघुगङ्था गाउँपालिका-५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले चालु आर्थिक वर्षका लागि गाउँपालिकाले विनियोजन गरेको रु. ५० लाख बजेटबाट सडक फराकिलो पार्ने, पानीको निकासका लागि नाला निर्माणका साथै ८० मिटर ढलान गरिने बताए ।
“झिँ-टोड्के छ किलोमिटर सडकमध्ये यस वर्षको बजेटबाट अप्ठ्यारो र साँघुरो ठाउँलाई सहज बनाउन उपभोक्ता समितिबाट मजदुर र डोजर परिचालन गरेर काम थालिएको छ”, उनले भने ।
संघीय सहरी विकास मन्त्रालयबाट विनियोजित रु. एक करोड ५० लाख बजेटबाट मंगला गाउँपालिकाको कुहुँ-भिरकटेरा-टोड्के र टोड्के-झिँ खण्डमा पनि स्तरोन्नति गर्न बोलपत्र आह्वान भएको छ ।