बलात्कार घटना अनुसन्धानमा इप्रका काकडभिट्टाको चरम लापरवाहीको आरोप, अभियुक्त छुटाउन चलखेल!
झापा– बलात्कार जस्तो जघन्य अभियोगको घटना अनुसन्धानमा इलाका प्रहरी कार्यालय (इप्रका) काकडभिट्टाले चरम लापरवाही गरेको आरोप लागेको छ।
कात्तिक २२ गते दर्ता भएको जवरजस्ती करणी घटनाको अनुसन्धानमा प्रहरीले शंकास्पद गतिबिधि देखाएको पीडित पक्षले आरोप लगाएको हो।
पीडित पक्षका अनुसार कात्तिक १७ गते राति मेचीनगर नगरपालिका वडा नम्बर १ गाडागल्लीका ३२ बर्षीय गँगाराम बास्कोटाले स्थानीय प्रजल देवानको सहयोगमा आफूमाथि बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालयमा एक युवतीले जाहेरी दिएकी थिइन्।
लगत्तै उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले अनुसन्धान सकेर मिसिल सरकारी वकिल मार्फत जिल्ला अदालत झापामा बुझाएको छ।
अनुसन्धानका क्रममा संकलन गर्नुपर्ने प्रमाण संकलन नगरेको, पीडितलाई अभियुक्त सँगै एउटै गाडीमा खाँदेर स्वास्थ्य परिक्षण गर्न लगेर थप पीडा दिएको र घटनासँग सम्बन्धित सबैलाई कागज नगराई प्रहरीले मुद्दा कमजोर बनाएको आरोप लागेको हो।
घटना पश्चात पीडित युवतीले साथीलाई आफूमाथि बास्कोटाले बलात्कार गरेको र त्यसका कारण शरिरका बिभिन्न भागमा चोट समेत लागेको बताएकी थिइन्।
सोही कुरा उनले इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रमुख डिएसपी मिङबहादुर लामा र अन्य अनुसन्धान अधिकृतलाई समेत खुलाए पनि स्वास्थ्य परिक्षणको क्रममा प्रहरीले उक्त कुरा लुकाएको पीडितले बताएकी छिन्।
उनले घटना घट्दा लगाएको कपडा आफुसँग सुरक्षित रहेको प्रहरीलाई जानकारी गराएपनि प्रमाणका लागि उक्त कपडा प्रहरीले जाँच नगरेको उनको भनाई छ। त्यस्तै जाहेरी दर्ता गरे लगत्तै आरोपी र पीडित दुवैलाई प्रहरी भ्यानको डालामा एकैठाउँ कोचेर काकडभिट्टाबाट मेची प्रादेशिक अस्पताल भद्रपुर लगेको पाईएको छ।
कानुनत बलात्कार जस्तो जघन्य अपराधको घटनामा पीडकबाट थप पीडा नदिन पीडितलाई उसको सम्पर्कमा नजाने ब्यवस्था मिलाईएको हुन्छ।
यसैगरी सबैभन्दा पहिले उनीमाथि बलात्कार भएको जानकारी प्राप्त गर्ने ब्यक्तीलाई समेत प्रहरीले कागजै नगराई मुद्दा बुझाएको पाईएको छ। यसबाट प्रहरीकै मिलेमतोमा मुद्दा कमजोर बनाउन खोजिएको थप पुष्टी हुने पीडितका आफन्तले बताएका छन्।
उनीहरुले आफूहरुलाई प्रहरीले कागजै नगराई अदालतमा मुद्दा बुझाउने तयारी गरेको थाहा पाएर जिल्ला सरकारी वकिलको कार्यालयमा समेत जानकारी गराईएको भएपनि जिल्ला न्यायधिवक्ताले सुनुवाई नगरेको गुनासो गरेका छन्।
सबैजनाको मिलेमतोमा आरोपीलाई छुटाउने चलखेल भईरहेको उनीहरुले बताएका छन्। यस्तै आफूहरुलाई बिभिन्न तरिकाले प्रलोभनमा पारेर मुद्दा कमजोर बनाउन लागिरहेको पनि उनीहरुको भनाई छ।
पीडकका परिबार र स्थानीय केही युवा अदालतमा समेत मुद्दा कमजोर बनाउन बिभिन्न शक्ति केन्द्र धाइरहेको पाईएको छ। जाहेरी दर्ता गर्न काकडभिट्टा प्रहरीमा जाँदादेखी नै प्रहरीको ब्यवहार पीडित मैत्री नभई पिडकमैत्री भएको आफुले महशुस गरेको पीडित युवतीले बताएकी छिन्।
अनुसन्धानको क्रममा खुलेका गोप्य तथ्य समेत पिडक पक्षलाई जानकरी गराईएको र युवतीको मान प्रतिष्ठामा आँच आउने किसिमको गतिबिधि प्रहरीबाटै भएको जानकारी आफुहरुले पनि पाएको उनका आफन्तको भनाई छ।
प्रहरीले अनुसन्धान सकेको भन्दै गत कात्तिक १३ गते नै सरकारी वकिल मार्फत मुद्दाको मिशिल जिल्ला अदालत झापामा बुझाएको छ। १४ गते जिल्ला न्यायाधीश ऋतबहादुर पुलामी मगरको इजलासमा परेको उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।