स्थानीय तहका ४१ पदका लागि भएको उपनिर्वाचनको मतले प्रक्षेपण गर्नेछ यस्तो राजनीति सन्देश
काठमाडौं– स्थानीय तहका प्रमुख, उपप्रमुखसहित विभिन्न रिक्त पदमा उपनिर्वाचनको मतदानको क्रम जारी छ। उपनिर्वाचनमा मतदान राम्रो भइरहेका विवरण निर्वाचन आयोगमार्फत आएको छ।
५ बजेसम्म हुने मतदानपछि मतपरिणामका निम्ति गणना सुरु हुनेछ। सम्भवतः आइतबारदेखि र सोमबारसम्ममा सबै ठाउँमा हुने मत गणना र त्यसबाट आउने परिणामले अहिले चलिरहेको ‘आरोप प्रत्यारोप अनि आलोचना र विरोध’ गर्ने राजनीतिक दलहरूलाई आगामी आवधिक निर्वाचनसम्म पुग्दा कस्तो व्यवाहार गर्ने भन्ने सन्देश दिनेछ।
यसकारण राजनीतिक पार्टीको सबैभन्दा तल्लो इकाई वडा अध्यक्ष र सदस्यसम्मका लागि हुने उपनिर्वाचन महत्वको मात्र होइन, सच्चिने मौका अथवा बिग्रिसकेको अवस्था दुवैका विषयमा जानकारी गराउनेछ।
केन्द्रमा सहकारी ठगीको एउटा बहस, राजनीतिक प्रतिशोधको अर्को छलफल अनि प्रक्रियाको विषय जन–जनका हातमा भएको मोबाइलदेखि सूचनाका साना डिभाइससम्म यसबीच पुगिसकेको छ। यसकारण यो उपनिर्वाचनले केही न केही प्रक्षेपणसहितको सन्देश त दिन्छ नै।
खासगरी दल र व्यक्तिका हकमा आम नागरिकले निर्णय दिनेछन्। उपनिर्वाचनमा राम्रो मत ल्याएर जित निकाले पनि आवधिक निर्वाचनसम्म सच्चिने बाटो राखिएन भने जे पनि हुन सक्ने उदाहरण ०७९ को स्थानीय तहको निर्वाचनबाट नै देखिएको थियो।
०७९ अघि धरान उपमहानगरपालिकामा भएको निर्वाचनमा भाग लिएका तर ४ सय हाराहारीको मत ल्याएका हर्क साम्पाङ आवधिक निर्वाचनमा मेयरमा ५ हजार बढी मत ल्याएर जित्न सक्नेसम्मको मनोविज्ञान मतदाताले बनाएका उदाहरण पनि छन्।
सबै पदका लागि भिडिरहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीसहितका सीमित ठाउँमा गठबन्धन गरेका साना दल अथवा २६ स्थानमा मात्र उम्मेदवारी दिएको रास्वपाका निम्ति पनि यो उपनिर्वाचन शक्ति आर्जनको प्रारम्भिक प्रक्षेपण हुनेछ। यसले ठूला र नयाँ दललाई परिणामबाट सच्चिने, सक्किने कि बौरिने भन्ने सन्देश पनि दिनेछ।
संगठन भएका, बनाइएका अनि कार्यकर्ताको हुल रहेकाले मात्र चुनावमा परिणाम ल्याउन सकिन्छ भन्ने भ्रम चिर्ने अस्त्र पनि हो, स्थानीय तहको उपनिर्वाचन। किनभने यसमा जन–जनको मत कता ढल्किएको रहेछ भनेर सूक्ष्म हिसाब गर्न सहज हुन्छ। त्यो हिसाबले जनता कसरी मत परिवर्तन गर्न या स्थिर रहन सक्ने रहेछ भन्ने पनि पत्तो लाग्नेछ।