मोलुङमा कांग्रेस वडा सभापतिले अरुलाई किन दिए मतपत्र ?
ओखलढुंगा- ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को उपनिर्वाचनमा शिवदूती मावि मतदान केन्द्र पुगेका सोही वडाका कांग्रेस सभापति पोखरेलले आफ्नो मत आफैँले हाल्न पाएनन् । ७५ वर्षीय पोखरेलले आँखा नदेखेर वा मतपत्र समात्न नसकेर मत नहालेको भने होइन ।
उनका छोरा विष्णु पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट वडाध्यक्षको उम्मेदवार बनेपछि बाबुले छोरालाई मत दिएको आरोपबाट बच्न पोखरेलले आफ्नो मतपत्र कांग्रेस उम्मेदवारका छोरालाई दिएका हुन् ।
वडा नम्बर ५ को उपचुनावमा कांग्रेसबाट उम्मेदवार बनेका घनश्याम दाहालका छोरा महेश दाहाललाई पोखरेलले आफ्नो मतपत्र थमाएर पार्टीप्रतिको निष्ठा दर्शाएका हुन् ।
सभापति पोखरेलको मत उनको इच्छाबमोजिम उम्मेदवारका छोराले मतपत्रमा छाप लगाइदिएको कांग्रेस नेता तथा प्रजातन्त्र सेनानी संघका केन्द्रीय सभापति बालकृष्ण दाहालले बताए ।
पोखरेलका जेठो छोरा सोमप्रसाद पोखरेल एमालेको सोही वडा कमिटी सचिव छन् । कान्छा विष्णु भने कांग्रेस छाडेर रास्वपा उम्मेदवार बनेका छन् ।
२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गोपी कार्कीको निधन भएका कारण आज त्यहाँ उपनिर्वाचन भएको हो । यसपटक एमालेबाट गंगाबहादुर तामाङ, कांग्रेसबाट घनश्याम दाहाल र रास्वपाबाट कांग्रेस वडा सभापति उमाकान्त पोखरेलका छोरा विष्णु पोखरेल उम्मेदवार छन् ।
एमाले नेता तथा पूर्वसांसद यज्ञराज सुनवारसमेत मतदाता रहेको यो वडामा २०७४ मा पनि कांग्रेसले वडाध्यक्ष जितेको थियो ।