Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनपीएल खेल्न इंग्ल्याण्डका अलराउन्डर रवि बोपारा नेपाल आइपुगे

आइतबार, मंसिर १६, २०८१


काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली चितवन राइनोजमा अनुबन्ध भएका इंग्ल्याण्डका अनुभवी खेलाडी रवि बोपारा नेपाल आइपुगेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चितवन राइनोजका प्रतिनिधिले स्वागत गरेका थिए ।

बोपाराले  एनपीएल चितवन राइनोजबाट खेल्नेछन् ।  

३९ वर्षीय भेट्रान ब्याटिङ अलराउण्डर बोपाराले इंग्ल्याण्डका लागि १३ टेष्ट, १२० ओडिआई र ३८ टी-२०आई खेल खेलेका छन् ।

उनी ओपनिङ र मिडल अर्डर दुवै पोजिसनमा ब्याटिङ गर्न सक्षम खेलाडी हुन् । दायाँहाते ब्याटिङ गर्ने उनले आफ्नो करियरमा ४७८ टी२० खेलमा ९ हजार ४८६ रन बनाएका छन् भने २९१ विकेट पनि लिएका छन् ।

उनले इंग्ल्याण्डको राष्ट्रिय टिमबाहेक आईपीएल, बीबीएल, पिएसएल, सीपीएल, एलपीएललगायत विश्वका धेरै फ्रेन्चाइज टी२० लिग खेलेका छन् । भाइटालिटी टी २० ब्लास्ट र दी हन्ड्रेडमा गरी ५ हजार भन्दा बढी रन बनाएका छन् ।

नेपालको क्रिकेट क्रेजबारे सबैलाई थाहा भएको र हरेक खेलाडी नेपालको समर्थकसामू आएर खेल्न चाहने बताउँदै बोपाराले आफू चितवन राइनोजको जर्सी लगाएर खेल्न उत्साहित रहेको बताएका छन् ।

यस्तै चितवन राइनोजका म्यानेजिङ डिरेक्टर आयुष न्यौपानेले बोपाराजस्तो अनुभवी खेलाडीको आगमनले टिमको सन्तुलन राम्रो हुने र उनको अनुभव र नेतृत्वदायी क्षमताले ड्रेसिङ रुमलाई फाइदा पुग्ने बताए ।

युवा अलराउण्ड कुशल मल्ल मार्की प्लेअर रहेको चितवनमा भेट्रान खेलाडी शरद भेषावकर पनि छन् । यस्तै प्रशिक्षकमा उमेश पटवाल छन् ।

शनिबारदेखि शुरु भएको यस एनपिएल पौष ६ गतेसम्म कीर्तिपुरस्थित टी.यू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । यो प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । 

 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  २१:००
प्रतिक्रिया दिनुहोस्