स्थानीय तह उपनिर्वाचन : हेटौंडा–१२ कांग्रेसले खोस्दा उपमहानगरका वडामा शून्य बन्यो माओवादी
हेटौंडा - हेटौंडा उपमहानगरपालिका–१२ को उपनिर्वाचनबाट नेपाली कांग्रेसले जित निकालेसँगै नेकपा माओवादी केन्द्रलाई धक्का लागेको छ ।
उपमहानगरको १९ वटा वडामध्ये गत २०७९ को स्थानीय तह निर्वाचनमा एउटै १२ नम्बर वडा जितेको माओवादी २ वर्ष पछिको उपनिर्वाचनबाट कुनै पनि वडामा प्रतिनिधिविहीन बन्न पुगेको हो ।
यसअघि माओवादीका लिलतबहादुर घलानले जितेका थिए । उनले २०७४ मा पनि जितेका हुन् । तर वडाको ४ सदस्य एमालेबाट विजयी भएका थिए । घलान जिल्ला समन्वय समितिको प्रमुख बन्न गएपछि रिक्त पदमा आइतबार उपनिर्वाचन भएको हो ।
लगातार २ पटक माओवादीले जितेको १२ नम्बर वडा कांग्रेसका अर्जुन तिवारीले खोसे । उनले २०६३ मत ल्याए । माओवादीका उम्मेद्वार युवा उमेरका रविकुमार प्रधानले १५६० मत ल्याएर पनि पराजित भए । नेकपा एमालेका राजेश नगरकोटी तेस्रो भए । उनले १३९८ मत पाए ।
बागमती प्रदेशको राजधानीसमेत रहेको एकमात्र उपमहानगर हेटौंडामा गत २०७९ को निर्वाचनमा मेयर र उपमेयर पदमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा (एकीकृत समाजवादी) को गठबन्धन थियो ।