Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण गर्ने

सोमबार, मंसिर १७, २०८१

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई लाख ५० हजार जना महिलामा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण गर्ने भएको छ ।

मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने भएको हो । फागुन महिनाभर देशैभर एकैसाथ महिलाहरूमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको महाशाखाले जानकारी दिएको छ ।

यस वर्ष अभियानका रूपमा दुई लाख ५० हजार महिलाको परीक्षण गरिने शाखाको भनाई छ । नेपालमा सन् २०२२ मा कुल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या ७ हजार ७६८ रहेको ग्लोबल क्यान्सर अब्जरभेटरीको तथ्यांकमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका दुई हजार १६९ तथा स्तनसम्बन्धी दुई हजार २५५ नयाँ बिरामी भेटिएका छन् ।

हाल नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । यसैगरी अब्जरभेटरीका अनुसार विश्वभर प्रति एक लाख बिरामीमा सात जनाको ज्यान जाने गरेकामा नेपालमा झण्डै ९ जनाको यस्तो क्यान्सरबाट ज्यान जाने गरेको छ । तर समयमै परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुने विज्ञहरूले बताउने गरेका छन् ।

विश्व क्यान्सर दिवसका दिन माघ २२ गतेबाट दुई सातासम्म १६ लाख किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्धको निःशुल्क खोप अभियान समेत सञ्चालन हुँदैछ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्