Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपनिर्वाचनः कांग्रेसको रिक्त तर एमालेको गढ काठमाडौं–१६ मा रास्वपाले कसरी जित निकाल्यो?

बुधबार, मंसिर १९, २०८१

काठमाडौं–  काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भएको उपचुनावको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित निकाल्यो। 

स्व. मुकुन्द रिजालले दुई पटक जित निकालेको उक्त स्थानमा नेपाली कांग्रेस पराजित भयो। रास्वपाको उपनिर्वाचनमा यो मात्र एउटा जित हो। 

रास्वपाकी पार्टीकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित विजयी भएकी हुन्। जबकि स्व. रिजालले उक्त वडामा ४ हजार भन्दा बढी मत ल्याएर बिजयी हुने गरेका थिए। 

दोस्रो स्थानमा रहेका एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरे। त्यस्तै २ हजार २ सय १४ मतसहित कांग्रेसका देवेन्द्र पाठक तेस्रो स्थानमा रहे। नेकपा एकीकृत समाजवादी का मीनबहादुर मानन्धरले १ हजार ९२ मत ल्याए। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्यामकृष्ण श्रेष्ठले ७ सय ७४ मत पाए। 

काठमाडौं–१६ मा १० हजार ५ सय ५८ मत खसेको थियो भने १ सय ८० मत बदर भएको थियो।

रास्वपाले कसरी जित्यो त्यसबारेको कारण खुलाइनेछ। यसअघि रिजालले कसरी जित निकालेका थिए?

०७९ को निर्वाचनमा रिजाल ४ हजार १९ मतसहित विजयी भएका थिए । त्यस्तै एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार १ सय १० मत ल्याएका थिए ।

दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका रिजालले ४ हजार १९ मत ल्याउँदा उपनिर्वाचनमा कांग्रेसका पाठक कसरी तेस्रो हुन पुगे? 

धेरै मतदाता रहेका वडा मध्येमा यो वडा पनि पर्दछ । वडा १६ मा कुल १२ हजार ३०८ मत खसेको थियो ०७९ को आवधिक निर्वाचनमा। 

रिजालको जीतसँगै काठमाडौंमा कांग्रेसले १८ वटा वडा जितेको थियो तर एउटा गुमाएको छ। ०७४ मा पनि एमालेको गढ भत्काउँदै रिजालको निजी मतले समेत काम गरेको थियो।

यो वडालाई निक्कै महत्वका साथ हेरिएको थियो। परम्परागत रुपमा यो एमालेको बाहुल्य भएको वडा मानिन्छ। २०५४ सालमा एमालेका रामबीर मानन्धर वडाध्यक्ष थिए।

तर स्व. रिजालले व्यक्तिगत रुपमा ०७४ र ०७९ मा एमालेको गढको नेतृत्व गर्दा चार जना सदस्य भने एमालेका प्रतिनिधिले नै जितेका थिए।

यस पटक कांग्रेसका नेता प्रकाशमान सिंहको दबाबका आधारमा रिजालको परिवारलाई टिकट नदिँदा उक्त वडा गुमाउन पुग्यो। पेशाले इन्जिनियर रहेका रिजालका २५ बर्षिय छोरा सन्देश रिजाललाई समर्थन गर्न पारिवारिक व्यक्ति मौन रहेका थिए।

कांग्रेस र रिजालका समर्थकले सन्देशले टिकट पाउनेमा ढुक्क रहँदा वडा नम्बर १७ का वडाध्यक्ष नबीन मानन्धर र २६ नम्बर वडाका अध्यक्ष खेल तिवारी समेतको दबाबमा सिंहले पाठकलाई उम्मेदवार बनाएका थिए। यसैकारण पनि कांग्रेसले काठमाडौं १६ गुमाएको बताइन्छ।

निधो भइसकेको टिकट पनि नपाएपछि चुनावअघि सन्देशले सामाजिक सञ्जालमा लेखेका थिए,‘हाम्रो अभिभावक स्व. मुकुन्द रिजालज्यूको निधन पश्चात रिक्त रहेको काठमाडौं महानगरपालिका वडा नं १६ को उपनिर्वाचनमा उहाँको अधुरा सपना पूरा गर्ने मनसायका साथ आकांक्षा राखेका थियौं।

उम्मेदवारीका क्रममा हामी सहित अन्य समाजका  थुप्रै अग्रणी व्यक्तित्वहरुले आकांक्षा राख्नु भएको थियोे तर आज उम्मेदवारी दर्ता गर्ने दिनसम्म पार्टीले उम्मेदवार तय गर्न नसकेको यस क्षणमा सर्वसम्मतिका लागि हामीले मार्ग प्रशस्त गरेका छौँ।’ 

सन्देशले अगाडि भनेका थिए,‘सर्वसम्मत नभएको कारणले उम्मेदवार हुने प्रक्रियाबाट अलग रहने  निर्णय गरेका छौं। मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा हाम्रो पार्टीको जित महत्त्वपूर्ण छ।’

उम्मेदवार बनाउनका लागि सहजीकरण गर्नुको साटो अनिर्णित भई सिंहलगायतका नेताको दबाबमा पाठकलाई उभ्याएका कारणले नै विकल्पमा रास्वपाले वडाध्यक्ष हात पारेको विश्लेषण गरिएको छ। 
 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्