काठमाडौं महानगरद्वारा तीन बालबालिकाको उद्धार
काठमाडौं- काठमाडौं महानगरपालिकाले एक बालिका र दुई बालकसहित तीन जनाको उद्धार गरेको छ ।
महानगरपालिकामा प्राप्त गुनासोका आधारमा आफ्नै सौतेनी बाबुबाट जबरजस्ती करणीमा परेको भनिएकी कक्षा ६ मा अध्ययनरत एक ११ वर्षीया बालिकाको उद्धार गरिएको हो ।
बालिकाको उद्धारपछि उनका ७ र ९ वर्षका दुई भाइहरूसमेत समेत घरमा एक्लै पर्ने भएकाले उनीहरूको पनि उद्धार गरिएको महानगरपालिकाले जनाएको छ ।
बालिका अध्ययन गर्ने विद्यालय काठमाडौं महानगरपालिका क्षेत्रभित्र भएकाले महानगरपालिका र प्रहरी वृत्त बौद्ध समेतको टोलीले बालबालिकाको उद्धार गरेको हो ।
महानगरपालिकाबाट खटिएका समाजसेवी र बालमनोविज्ञ मार्फत बालिकाको परामर्श गरिएको थियो ।बालिकाका सौतेनी बाबुलाई प्रहरी वृत्त बौद्धले पक्राउ गरी हिरासतमा राखेको छ ।
महानगरपालिकासहितको अनुगमन टोलीले पेस गरेको अनुगमन प्रतिवेदनका आधारमा प्रहरीले बालिकाको थापाथली प्रसूति अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो ।
बालिकासहित तीनैजना बालबालिकालाई अस्थायी संरक्षणका लागि पठाइयो महानगरपालिकाले जनाएको छ ।