Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप, आठ जना घाइते

बुधबार, मंसिर १९, २०८१

चितवन- चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा परेर आठ प्रहरी घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनकारीले  सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीले ढुंगा प्रहार गर्न थालेपछि उक्त कार्य रोक्नका लागि अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको उनले बताए । घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । 

'प्रहरीले बल प्रयोग गरेको छैन । प्रदर्शनकारीले ढुंगा हान्दा प्रहरी घाइते भएका हुन्', प्रहरी उपरीक्षक मिश्रले भने । जिल्ला प्रहरी कार्यालय अगाडी सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र नाघेपछि सो कार्य रोक्न खोज्दा झडप भएको उनले जानकारी दिए ।

प्रदर्शनकारीतर्फ १६ जना घाइते भएको रास्वपा चितवनका सभापति कृष्ण भुसालले जानकारी दिए । घाइतेको भरतपुर सामुदायिक  अस्पताल, नारायणी सामुदायिक अस्पताल, देव अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको उनले बताए ।

रास्वपा सभापति लामिछानेको बयान सरकारी वकिलको कार्यालयमा जारी छ । यहाँको साहारा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि प्रहरीले उनलाई बयानका लागि मंगलबार काठमाडौँबाट चितवन ल्याएको हो । साहारा सहकारीबाट रु. १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोप लागेपछि उनलाई बयानका लागि चितवन ल्याइएको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्