रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।
वीरगञ्ज महानगरपालिका-६ आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको प्रकरणमा अनुसन्धान गर्न रविलाई पक्राउ अनुमति दिइएको हो ।
सानो पाइलाबाट गोर्खा मिडियामा साढे ८ करोड रुपैयाँ लगेर अपचलन गरेको देखिएको छ । पर्सा प्रहरीका अनुसार सानो पाइलाबाट गैरकानूनी रूपमा रकम सार्दा गोर्खा मिडियामा रवि लामिछाने प्रबन्ध निर्देशक थिए ।
पर्सा प्रहरी स्रोतका अनुसार हालैमात्र लामिछाने, छविलाल जोशी, जीवी राईसहित १४ जनालाई पक्राउ गर्न जिल्ला अदालत, पर्साले पक्राउ अनुमति दिएको छ । गत कात्तिक २ मा पक्राउ परेका लामिछानेको हाल चितवनमा बयान भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१ १७:१९
प्रतिक्रिया दिनुहोस्