विपद्ले पूर्ण क्षति पुर्याएका विद्यालयको जिम्मा संघीय सरकारले लिने
काठमाडौँ- प्राकृतिक विपद्ले पूर्ण क्षति पुर्याएका विद्यालयको पुनः निर्माणको जिम्मा संघीय सरकारले लिने भएको छ । गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षाले देशका विभिन्न क्षेत्रका विद्यालयमा क्षति पुर्याएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईका अनुसार विपद्का कारण विद्यालयमा पुगेको क्षतिको सन्दर्भमा सरकारले अध्ययन गरिरहेको छ । प्राकृतिक विपद्ले पूर्ण क्षति पुर्याएका विद्यालयको पुनः निर्माणको जिम्मा संघीय सरकारले लिने तय भएको छ ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले विपद्मा धेरै विद्यालयमा क्षति भएको बताएकी थिइन् ।
सरकारको यो विषयमा के गरिरहेको छ रु भन्ने उनको प्रश्न थियो । जवाफमा मन्त्री भट्टराईले तीन तहको समन्वयमा काम गर्ने तय भएको बताइन् ।
‘पूर्ण क्षति भएका विद्यालयहरूको जिम्मा संघ सरकारले लिनेछ । अरु क्षतिको सन्दर्भमा प्रदेश र स्थानीय सरकारमार्फत अहिले भएको बजेटबाट कति सक्नुहुन्छ गर्नुहोस् भनिएको छ,’ मन्त्री भट्टराईले भनिन् ।
मन्त्रालयका लागि नियमित रूपमा आउने बजेट र त्यसअन्तर्गत यसवर्ष काम नगरे पनि हुने कतिपय बजेटलाई विपद्मा परिचालन गर्ने गरी अर्थ मन्त्रालयबाट स्वीकृति लिएर अगाडि बढ्ने तयारीमा मन्त्रालय रहेको पनि उनले जानकारी दिइन् ।