चितवनमा तनाव हुने देखेपछि रातारात कास्की लगियो रास्वपा सभापति रवि लामिछाने
काठमाडौं– बिहीबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय कास्की लग्ने तयारी गरिएका सहकारी ठगी प्रकरणका अभियुक्त रास्वपा सभापति रवि लामिछानेलाई बुधबार राती नै पोखरा लगिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवन अगाडि बुधबार दिउँसो रास्वपा कार्यकर्ता झडपमा उत्रिएपछि प्रहरीले सुरक्षा प्रबन्धलाई मध्यनजर गरी राती नै पोखरा लगेको हो।
प्रहरी उच्च स्रोतले भन्यो,‘प्रदर्शन उग्र मात्र होइन हिंसात्मक हुन सक्ने सम्भावना देखेपछि यस्तो विधि अपनाइएको हो। नत्र बिहीबार बिहानको खाना खुवाएर लैजाने तयारी थियो।’
प्रदर्शनलाई बढावा दिनका लागि रास्वपाका पदाधिकारी नै संलग्न रहेको पनि प्रहरीको अध्ययनले देखाएको छ। सह कोषाध्यक्ष दीपक बोहोरासहितका पदाधिकारी चितवन पुगेका थिए।
उनीहरूले आन्दोलनलाई थप उग्र बनाउन सामाजिक सञ्जालमा झडपलगायतका उग्रताका भिडिओ लाइभ गरेको र त्यसको पनि अध्ययन र अनुसन्धान हुने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।