उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष
काठमाडौं- नेकपा माओवादी केन्द्रले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले उत्साहित बनाएको जनाएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले उपनिर्वाचनको परिणामबाट एक्लै चुनाव लड्न सकिने अवस्था सिर्जना भएको निष्कर्ष निकालेको हो ।
कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
‘माओवादी एकताबद्ध भएर जनतामा गएको छ । यसले सकारात्मक नतिजा दिएको छ । पहिला हामीले जितेको आठ वटा थियो अहिले १२ वटा भएको छ’, सापकोटाले बैठक पछि भने, ‘एक्लै चुनाव लड्दा जनताले साथ दिएका छन् । सबै पार्टी मिल्दा पनि हाम्रै पार्टीले विजय हासिल गरेको छ । यसले बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको आधार उपचुनावले दिएको छ ।’
उनले उपनिर्वाचनले ०८४ को तयारीका लागि राम्रो सन्देश दिएको समेत उल्लेख गरे ।