परालको आगो : नेपाली फिल्मका लागि ऐतिहासिक उदाहरण
तपाईले परालको आगो फिल्मका बारेमा के कति थाहा पाउनु भएको छ ? करिब १.५ घण्टा लामो यो चलचित्रका प्रमुख कलाकारहरुमा हास्य अभिनेत्रीका रूपमा ख्याति कमाइरहेकी वसुन्धरा भुसाल नायिकाको भूमिकामा थिइन् भने टंक शर्मा नायकको भूमिकामा थिए । यसबाहेक मेनुका प्रधान, आई.के. सिंह, विश्व हिङमाङ, प्रेम क्षेत्री लगायत धेरै कलाकारले अभिनय गरेका थिए ।
नेपाली कथानक चलचित्रको इतिहासमा एउटा महत्त्वपूर्ण समयमा बनेको महत्त्वपूर्ण फिल्मको चर्चा गर्दा जहिले पनि हामीले निर्देशक, लेखक र ब्यानरको नाम सम्झिन्छौं । तर नेपालको चलचित्र उद्योगले एउटा चलचित्र निर्माण गर्यो र त्यो चलचित्रले भारत र नेपालका कलाकारलाई समन्वय गरायो । त्यो चलचित्र हो ‘परालको आगो’ ।
भारतको दार्जिलिङमा जन्मे हुर्केका नाट्यकर्मी प्रताप सुब्बाले आफ्नो रंगमञ्चको अनुभव र अध्ययनपछि चलचित्रमा प्रवेश गरे । चलचित्र बनाउनुभन्दा अगाडि सुब्बाले वृत्तचित्र "पौने ब्वाई" बनाएका थिए । "पौने ब्वाई"का निम्ति उनले दार्जिलिङमा अध्ययनरत निर शाहलाई अभिनय गर्न लगाएका थिए ।
त्यसपछि इन्द्रबहादुर राईको कथामा आधारित ‘सपना कतिपय’ नामक फिल्म बनाउने घोषणा गरे । निर्माता हृदयनाथ लामाको लगानीमा ‘सपना कतिपय’नामक फिल्म बनाउँदै गर्दा आगलागीमा परेर फिल्मका रिलहरू जलेपछि निर्माण क्रममा नै यो फिल्म अवरुद्ध भयो ।
यसपछि प्रताप सुब्बाले पश्चिम बङ्गाल सरकारको ऋण सहयोगमा ‘परालको आगो’ को निर्माणको घोषणा गरे । प्रताप सुब्बाले बनाएको यो फिल्म विशुद्ध रूपमा नेपाली साहित्यिक कृति ‘नासो’को एउटा उत्कृष्ट कथा ‘परालको आगो’बाट लिएको थियो ।
गुरुप्रसाद मैनालीको ११ कथाको संग्रह ‘नासो’बाट ‘परालको आगो’लाई फिल्मको रूपमा निर्माण गर्ने उद्देश्यले प्रकाश सुब्बाले यसको पटकथा र संवाद लेखनको काम सुरु गरे ।
परालको आगो धेरै अर्थमा ऐतिहासिक फिल्म बन्न सक्थ्यो र बन्यो पनि । परालको आगो त्यत्तिबेला ‘ब्ल्याक एन्ड ह्वाइट’मा निर्माण भएको थियो । यो प्रताप सुब्बाको फिचर फिल्म निर्देशनमा डेब्यू थियो ।
प्रताप सुब्बाले यो फिल्मका निम्ति तीन गीतको रेकर्डिङ कलकत्तामा गराए । तर यसको रमाइलो कथा छ । यो फिल्मको सङ्गीतकारका निम्ति नेपाली चलचित्रमा पहिलो पटक महिला सङ्गीतकार शान्ति ठटाललाई चयन गरियो ।
विश्वकवि रवीन्द्रनाथ टेगोरद्वारा स्थापित विश्व सङ्गीत निकेतनमा अध्ययन गरेर आएकी शान्ति ठटालले गीति नाटकमा र फुटकर गीतमा धेरै सङ्गीत गरिसकेकी थिइन् । यस फिल्ममा पहिलो पटक चलचित्रका लागि सङ्गीत गरिएको थियो ।
उनको सङ्गीतमा यस फिल्मका निम्ति इन्द्र थपलिया र मनबहादुर मुखियाले गीत लेखे । यस फिल्मका गीतहरू गायिका अरुणा लामाबाहेक अन्य कलाकार शङ्कर गुरुङ, पेमा लामा, दावा ग्याल्मो, रिमला मोक्तान, दीपा गहतराजले गाए ।
परालको आगोको सर्वाधिक लोकप्रिय गीत ‘उडी जाऊ भने म पन्छी हैन’ कथामै उल्लेख भएको सानो मुखराको अंशबाट मनबहादुर मुखियाले पूर्ण आकारको गीत सिर्जना गरे । यो गीतमा शान्ति ठटालको सङ्गीत र अरुणा लामाको स्वरले न्याय गर्यो ।
अर्को ‘धेरै चुलबुल नगर बैनी बतासैले उडाइदेला तिम्रो पछ्यौरीलाई’ निकै लोकप्रिय भयो । यो समूह गीतमा शङ्कर गुरुङ, पेमा लामा, दावा ग्याल्मो, र दीप गहतराज सबैले गाएका थिए ।
यो परालको आगो फिल्म साहित्यिक कृतिमै आधारित रहेर साहित्यिक कृतिलाई अन्याय नगरी बनेको सम्भवतः पहिलो नेपाली फिल्म थियो ।
ब्ल्याक एन्ड ह्वाइटमा निर्माण भएको यो फिल्मका लागि नायकका रूपमा दार्जिलिङका प्रसिद्ध रंगकर्मी टंक शर्मालाई चयन गरियो । नायिकाका निम्ति नेपालकी प्रसिद्ध रंगकर्मी तथा चलचित्र अभिनेत्री वसुन्धरा भुसाललाई चयन गरियो । यस फिल्ममा नेपाल र दार्जिलिङको संयुक्त योगदान रह्यो ।
दार्जिलिङ, कालिङपुङको वरपर छायांकन गरिएको यो फिल्ममा प्रताप सुब्बाले केही बङ्गाली प्राविधिकको सहयोग लिएका थिए । केही नेपाली र दार्जिलिङका कलाकारको सहभागिता रह्यो ।
परालको आगो फिल्ममा प्रताप सुब्बा एक निर्देशकका रूपमा सक्षम, अब्बल, र स्थापित बने । फिल्मको छायांकनको क्रममा उनले एक्पोज गरेको रिलको संख्या र कलाकारलाई अभ्यास गराएर तयारी पारेर खिचिएका दृश्यहरू यादगार पक्ष रहे ।
यो फिल्म ठूलो बजेटमा बनेको थिएन । जसरी त्यो बेला नेपालमा शाही नेपाल चलचित्र संस्थानका चलचित्रमा प्रशस्त बजेट हुन्थ्यो, त्यस्तो बजेट यो फिल्ममा थिएन । यद्यपि यो फिल्मका लागि प्रताप सुब्बाले दार्जिलिङ, कालिङपुङ, र सिक्किमका फिल्मकर्मीहरूलाई प्रेरित गरे । यही फिल्मको सफलताको कारणले प्रताप सुब्बालाई ‘बाँच्न चाहनेहरू’, ‘कहीँ अध्यारो कहीँ उज्यालो’ जस्ता फिल्म बनाउन मौका मिल्यो । त्यसपछि सिक्किमबाट ‘मसाल’ को निर्देशन गर्ने अवसर पनि पाए ।
कृतिबाट फिल्म बनाउनेहरूका लागि उदाहरणीय फिल्म
प्रताप सुब्बाले परालको आगोलाई फिल्म बनाउन त्यस्तो समयमा छाने, जुन त्यो बेला निकै चुनौतीको विषय थियो । त्योभन्दा अगाडि बनेका नेपाली साहित्यिक कृतिमा आधारित फिल्महरू ठ्याक्कै ती कृतिजस्ता बन्न सकेका थिएनन् । कृतिसँग मेल खाएन भने फिल्म नचल्न सक्ने डर हुन्थ्यो ।
जस्तै "परिवर्तन" जनधन समूहको नाटक "चेतना" मा आधारित थियो, तर चेतनाभन्दा फिल्म "परिवर्तन" अलग्गै बन्यो ।
त्यस्तै, प्रकाश थापाको निर्देशनमा बनेको "सिन्दुर" दौलत विक्रम विष्टको कथा "जब बादल फाट्छ" मा आधारित थियो, तर फिल्म धेरै फरक बन्यो ।
"जीवन रेखा" केशवराज बिडारीको उपन्यास "अन्त्यदेखि सुरु" मा आधारित थियो, तर फिल्म आउँदा अन्त्यदेखि सुरुसम्मको कथा प्रयोग गरिएको थिएन ।
तर "परालको आगो" गुरुप्रसाद मैनालीले कल्पना गरेको त्यो गाउँ, चरित्र, र पात्र जुठे-गौथली सही रूपमा, जस्ताको तस्तै प्रस्तुत गरिएको थियो । यस अर्थमा, परालको आगो नेपाली सिनेमा आकाशको एउटा महत्त्वपूर्ण फिल्म बन्यो ।
नेपालमा जब यो फिल्म प्रदर्शन भयो, त्यो बेलामा फिल्म देखाउने हलहरूमा साढे दुई वा तीन घण्टाको फिल्महरू हुने गर्थे । तर परालको आगोको समयावधि मात्र डेढ घण्टा भएको कारणले, हलले अर्को डेढ घण्टा फिल्म देखाउनुपर्ने परिस्थिति सिर्जना भयो ।
कारण के भयो भने जुन हलमा परालको आगो देखाइने थियो, हलमा भारतका प्रसिद्ध संगीतकार मदन मोहनको निधन भएको शव यात्राको वृत्तचित्र पनि देखाइन्थ्यो । त्यसपछि मात्र परालको आगो सुरु हुन्थ्यो । सिनेमा हलले आफ्नो तीन घण्टाको समयको लागि परालको आगोको साथमा अर्को डकुमेन्ट्री वा वृत्तचित्रलाई बोनसको रूपमा देखाएको थियो ।
प्रताप सुब्बा पर्दामा एक निर्देशकका रूपमा देखिएपछि नेपालका चलचित्रकर्मी, पत्रकार, र समीक्षकहरू आकर्षित भए । धेरैले उनलाई नेपालमा आएर फिल्म बनाउन आह्वान गरे ।
यो फिल्मको निर्माणपछि वि.सं. २०३९ सालमा काठमाडौंस्थित होटल ब्लु स्टारमा शाही नेपाल संस्थानले आयोजना गरेको चलचित्र संगोष्ठीमा प्रताप सुब्बा आमन्त्रित निर्देशकका रूपमा भारतबाट आएका थिए । परालको आगोबाट प्रसिद्ध भएका प्रताप सुब्बाले गोष्ठीमा चलचित्र बनाउने बजेट र तरिकाबारे आफ्नो विचार राख्दा यहाँका चलचित्रकर्मीहरू प्रभावित भएका थिए ।
पछि प्रताप सुब्बाका अन्य धेरै चलचित्र बने, तर आजसम्म मान्छेहरूले उनलाई परालको आगोका कारणले सम्झने गरेका छन् । शान्ति ठटाल र गायिका अरुणा लामालाई समेत परालको आगोका कारण धेरै सम्झना गरिन्छ । परालको आगोमा अभिनय गर्ने वसुन्धरा भुसाल, टंक शर्मा, आई.के. सिंह, र मेनुका प्रधानलाई पनि धेरै सम्झना गरिन्छ । परालको आगो एक किसिमले नेपाली फिल्मको एउटा माइलस्टोन पनि मानिन्छ ।
कथाको चरित्र :
परालको आगो कथा एक सामाजिक विषयवस्तु बोकेको कथा हो । नेपाली समाजका सोझा नागरिकका कथा-व्यथालाई मैनालीले आफ्ना कथामा उठाउने क्रममा परालको आगो जन्मिएको पाइन्छ । ग्रामीण परिवेशको जीवनशैलीलाई जस्ताको तस्तै टिपेर आफ्ना कथामा राख्ने मैनालीले गाउँका नागरिकको सामाजिक पृष्ठभूमि के कस्तो हुन्छ भन्ने कुरा ‘परालको आगो’मा प्रस्तुत गरेका छन् ।
मैनाली सामाजिक यथार्थवादी कथाकार भएकाले परालको आगो कथामा सामाजिक आदर्शोन्मुख यथार्थवादलाई बढी मात्रामा जोड दिएको पाइन्छ ।
दलित, पीडित तथा तल्लो जात भनिएकालाई कथामा पात्रका रूपमा उभ्याएर, २००७ साल पूर्व नै जातीय सम्मान प्रकट गर्ने काम पनि मैनालीले गरेका छन् । मैनालीले कथानकमा प्रयोग गरेका घटनाहरू वास्तविक छन् ।
यस कथामा पाइने लोग्ने स्वास्नीको संवादबाट ग्रामीण परिवेशको चित्रण गर्दै कथालाई काल्पनिक नभई यथार्थपरक तवरले प्रस्तुत गरिएको छ । भैंसीले लात्तीले हानेपछि गबुवासँगै गोबरमाथि लडेको चामेको स्थिति, पधेँराबाट सकी नसकी पानी ल्याउँदा जुठे दमाई र उसकी श्रीमतीले ख्याल ठट्टा गरेको घटना, ससुराली पुग्दा सासूले जुठै हातले चामेलाई गरेको नमस्कार जस्ता घटनाले कथालाई यथार्थवादी बनाएको छ ।
दिनभर काम गरेर पनि बिहान बेलुका हातमुख जोर्न समस्या पर्नु, माटोको गाग्रोमा पानी बोक्नु, महिला विवाह र रमाइलो भनेपछि हरक्क हुनु, नेपाली समाजमा महिलाहरूले लोग्नेको कुटाइ खानुपर्ने र सहन नसके माइतमा गएर बस्नु, लोग्ने स्वास्नीबीच झगडा हुनु र एकैछिनमा मिल्नु, तमाखु खानु र खुवाउनु, बाली नाश भएकामा पशुलाई र मान्छेलाई दुवैलाई कुट्नु, पहिले म मरे पनि लिन जान्न भन्ने चामेले पछि माइत गएकी श्रीमतीलाई लिन जानु जस्ता कुराहरूले ग्रामीण परिवेश, चालचलन, रीतिरिवाज, प्रवृत्ति तथा मानसिकताको अवस्थाको चित्रण गरेको पाइन्छ ।
परालको आगोको प्रारम्भ चामेकी स्वास्नी गौथली साह्रै मुखाले थिई भन्ने समस्याबाट सुरु हुन्छ । नेपाली समाजका महिलावर्गको मुखाले चरित्र, दिनभर काम गरेर बेलुका फर्किने चामेको चरित्रलाई पनि कथाकारले कथामा मुख्य विषयवस्तु बनाएका छन् ।
त्यस्तै, कथाको मध्यभाग चामेले गौथलीलाई कुट्नु, गौथली माइत जानुको वरिपरि घुमेको छ । चामे लिन गइसकेपछि गौथली लुगा लगाएर घर फर्किन तयार हुनु, बाबुआमाले दहीको ठेकीसँग बिदा गर्नु कथाको अन्त्य भाग हो ।
यद्यपि, लोग्ने स्वास्नीको झगडा परालको आगो हो भन्ने सन्देश यो कथाले दिन खोजेको छ ।
सारांशमा, परालको आगो कथाले नेपाली समाजको यथार्थ, पारिवारिक जीवनका आरोह-अवरोह, र ग्रामीण संस्कृतिको वास्तविक चित्रण प्रस्तुत गर्दछ ।