एक भारतीय महिलाले उपराष्ट्रपति यादवलाई किन लेखिन पत्र, त्यसमा के छ ?
काठमाडौं -बाराको गढीमाईमा पाँच वर्षमा लाग्ने मेलाका बेला हुने पशु बली कार्यक्रममा सहभागी नजनाइदिन भन्दै भारतकी पूर्वमहिला तथा बाल विकास मन्त्रीले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई पत्र लेखेकी छन् ।
गढीमाई मेलामा पशु बली कार्यक्रमको पूर्वसन्ध्यामा भारतकी पूर्वसांसद् एवं पूर्वमन्त्री मनिका गान्धीले यादवलाई पत्र लेखेकी हुन् । गढीमाईमा मेला लाग्ने स्थान उपराष्ट्रपति यादवको निर्वाचन क्षेत्र हो ।
त्यसैले ‘सन् २०१९ मा नेपालको सर्वोच्च अदालतले दिएको आदेशको पनि सम्मान गर्दै’ कार्यक्रममा सहभागिता नजनाइदिन अनुरोधसहित यादवलाई उनले पत्र पठाएकी हुन् ।
गान्धी भारतकी पशु अधिकारकर्मी समेत हुन् । सर्वोच्च अदालतले २०७६ सालमा यो धार्मिक आस्थासँग जोडिएको विषय भएकाले तत्काल पशु बली रोक्न आदेश दिन नसकिएपनि यसलाई क्रमशः कम गर्दै हटाउन आदेश दिएको थियो । त्यसका लागि प्रबन्ध गर्न अदालतले सरकारलाई आदेश गरेको थियो ।
यद्यपि, आदेशपछि भएको बेला पनि झण्डै साढे २ लाख पुशपंक्षीको बली दिइएको थियो । भारतमा अदालतले बलीका लागि नेपालमा पशु लैजान रोक लगाएको थियो ।
गान्धीले पत्रमा भनेकी छन्, ‘मैले नेपालको सांस्कृतिक परम्पराप्रति सम्मान व्यक्त गर्छु, तर सँगै हामीले जनवारको पनि संवेदनशीलतालाई ख्याल गर्ने वैश्विक सहमतिको पनि स्वीकार गर्नुपर्छ र करुणाको हाम्रो आधारभूत सिद्धान्तको पनि ख्याल राख्नुपर्छ, जसले हाम्रो सभ्यताको प्रतिबिम्ब दिन्छ ।’
मंसिर १७ गते मेलाको उद्घाटन उपराष्ट्रपति यादवले नै गरेका थिए । यस्तो अवस्थामा जनावरको संगठित रुपमा दर्दनाकपूर्ण तरिकाले सामूहिक बली दिने परम्पराका बेला उपस्थित भए आफ्नो देशको सर्वोच्च अदालतको आदेश विपरितको गतिविधिलाई प्रोत्साहित गरेको देखिने उनले भनेकी छन् ।
उपराष्ट्रपतिका रुपमा यो पदको जिम्मेवारी प्रशासनिक मात्र नभइ त्योभन्दा निकै माथिको दात्यिव हुने भएकाले बरु यसलाई रोक्न भूमिका खेल्न गान्धीले भनेकी छन् ।
गढीमाईमा हुने पशु बली रोक्न काम गरिरहेको ह्युमन सोसाइटी इन्टरनेश्नल, भारतका निर्देशक आलोकपर्णा सेन गुप्ताले पनि पशु बलीलाई रोक्ने अभियानमा सरिक भइदिन उपराष्ट्रपतिलाई आग्रह गरेका छन् ।