सिरियामा दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित : राष्ट्रसंघ
स्विजरल्याण्ड- सिरियाको उत्तर पश्चिम हयात तहरीर अल-शाम (एचटीएस)को नेतृत्वमा रहेको क्षेत्रमा आक्रमणपछि दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् ।
संयुक्त राष्ट्रसंघले ट्वीटरमा साझा गरेको पोस्टमा लेखेको छ, “हालैको हिंसामा केही दिनमै उत्तर पश्चिम सिरियामा दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रसंघले सिरियामा सबैभन्दा कमजोरलाई सहयोग गर्न मानवीय प्रयासहरू बढाउँदैछ ।”
यसैबीच, हजारौँ बासिन्दाहरू होम्स शहरबाट भागेका छन् । दमास्कसतर्फ विद्रोहीहरूको अग्रसरतामा त्रास फैलिएको छ ।
सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर)ले शुक्रबार हजारौँ होम्सका बासिन्दाहरू पश्चिमी किनारतर्फ रातभरि भाग्न थालेका जनाएका छन् । यहाँ सिरियाली राष्ट्रपति बसर अल-असदले अझै पनि नियन्त्रण कायम राखेका छन् ।
बिहीबार उत्तरको हामा सहर कब्जा गरेपछि विद्रोहीहरूले होम्सको चौराहे शहरमा आफ्नो नजर राखेका छन्, जुन कब्जा गरेमा राष्ट्रपति बसर अल-असदको नियन्त्रणमा रहेको क्षेत्र विभाजित हुनेछ ।
संयुक्त राष्ट्रसंघका अनुसार एक दशक भन्दा बढीको युद्धमा तीन लाख भन्दा बढी नागरिक मारिएका छन्, जबकि लाखौँ क्षेत्रभरि विस्थापित भएका छन् ।