Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँमा बाढीले बालीमा एक करोड बढीको क्षति

आइतबार, मंसिर २३, २०८१

तनहुँ - गत असोजको बाढीबाट तनहुँमा रु. एक करोडभन्दा बढीको बाली नष्ट भएको छ । आँबुखैरेनी, बन्दीपुर देवघाट र ऋषिङ गाउँपालिकामा रु. एक करोड आठ लाख आठ हजार तीन सय ७० बराबरको क्षति भएको हो ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आँबुखैरेनी गाउँपालिकामा सबैभन्दा धेरै क्षति भएको छ । छपन्न रोपनीमा लगाइएको हिउँदे मकै, धान, कोदो तथा दलहन  र सागसब्जीमा ५० प्रतिशत क्षति हुँदा रु. ८६ लाख ७० हजार पाँच सय ७० बराबरको नोक्सान भएको छ ।


त्यसैगरी बन्दीपुरमा साढे पाँच रोपनी धानबालीमा बाढी र पहिराले शतप्रतिशत क्षति हुँदा रु. १५ लाख ९१ हजार आठ सय र एक रोपनीमा लगाइएको कोदो पहिराले ५० प्रतिशत क्षति हुँदा रु. ६० हजार नोक्सान भएको छ । देवघाट गाउँपालिकामा पाँच रोपनीमा धानबाली बाढीले शतप्रतिशत क्षति हुँदा रु. दुई लाख ४० हजारको नोक्सान भएको छ ।

देवघाट गाउँपालिकाको वडा नं २, ३ र ५ मा करिब एक रोपनी क्षेत्रफलमा लगाइएको मकै, बोडी, मास, कोदो, काउली बाढीका कारण ९० प्रतिशत क्षति हुँदा रु. ५० हजार र पहिराका कारण एक रोपनीमा लगाइएको बोडीको बीउ शतप्रतिशत क्षति हुँदा रु. एक लाख बराबरको नोक्सान भएको छ ।

प्राकृतिक विपद्बाट खेतबारीमा भएको क्षतिको विवरण संकलन गरी कृषि विकास निर्देशानालयलाई जानकारी गराएको केन्द्रले जनाएको छ ।    

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्