गृह जिल्ला भ्रमणमा पुगेका प्रधानमन्त्री ओलीविरुद्ध मेचीनगर नगरपालिका रोडमा नाराबाजी
दमक– गृह जिल्ला झापाका विभिन्न कार्यक्रममा सहभागी हुन आएका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मेचीनगर नगरपालिका रोडमा सर्वसाधारणले नाराबाजी गरेका छन्।
ओलीविरुद्ध नाराबाजी गर्नेलाई प्रहरीले नियन्त्रणमा राखेको छ।
विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा आएका भोली भद्रपुर विमानस्थलमा उत्रिएका थिए।
विमानस्थलमा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गरेका थिए।
मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रमको उद्घाटनका लागि ओली यहाँ आउँदा नाराबाजी भएको हो।
ओलीले दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्नेछन्।
दुई दिनसम्म गृह जिल्ला रहने प्रधानमन्त्री ओलीले भवन उद्घाटन तथा शिलान्यास, खानोपानी आयोजना उद्घाटन, जग्गाधनी प्रमाणपूर्जा वितरण तथा पार्टी गतिविधिसँग सम्बन्धित कार्यक्रममा सहभागी हुनेछन्।
सोमबार बिहान १० बजे बेलडाँगी खानेपानी आयोजनाको उद्घटन, ११ बजे गौरादह नगरपालिकाअन्तर्गत महारानीझोडामा जग्गाधनीपुर्जा वितरण र दिउँसो १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधनमा प्रधानमन्त्री व्यस्त हुनेछन्।
एमाले अध्यक्ष ओलीले सोमबार दिउँसो २ बजे बिर्तामोडस्थित सिटीसेन्टरमा पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्।