‘पूर्णबहादुरको सारङ्गी’को प्रदर्शन नरोकिने
काठमाडौं- फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को प्रदर्शन नरोकिने भएको छ । वितरण कम्पनी टी–फोक र ब्याङ्कटेस इन्टरटेनमेन्टले प्रदर्शनलाई नियमित गर्न भन्दै हललाई इमेल लेखेका छन् ।
‘कृपया, योजनाअनुसार नै पूर्णबहादुरको सारङ्गीको प्रदर्शनलाई अघि बढाउनुहोला’, वितरण कम्पनी टी–फोकले विद्युतीय पत्रमा लेखेको छ, ‘फिल्मलाई उतार्ने लगायतका कुरालाई बेवास्ता गर्नुहोला ।’
अर्को सूचना नआएसम्म प्रदर्शनलाई निरन्तरता दिन समेत वितरकले भनेको छ । शोमा असन्तुष्टि जनाउँदै फिल्मको निर्माता कम्पनी सेभेन सिजले शनिबार एकाएक सोमबारदेखि फिल्म उतार्ने आशयको विज्ञप्ति सार्वजनिक गरेको थियो ।
निर्माताको भनाइलाई खण्डन गर्दै वितरकले प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेका हुन् । वितरण कम्पनी र निर्माता कम्पनीबीच भएको सहमतिको दोस्रो नम्बर बुँदामा लेखिएको छ, ‘दोस्रो पक्ष (निर्माण कम्पनी)ले नेपाली हलहरुमा रिलिज गरेको मिति कात्तिक १५, २०७५ गतेबाट ६ महिनाको लागि नेपाली फिल्मको वितरण एवं प्रदर्शन गर्ने अधिकार प्रथम पक्ष (वितरक)मा निहित रहनेछ ।
उक्त समयावधि दुवै पक्षको आपसी सहमतिमा थपघट गर्न सकिनेछ । प्रथम पक्षको वितरण एवं प्रदर्शन सम्बन्धी अधिकारलाई दोस्रो पक्षले कुनै पनि आधार र कारण देखाई नकारात्मक असर पर्न सक्ने क्रियाकलाप गर्न पाइने छैन । तर यो व्यवस्थाले कानुन विपरीत कार्य गर्न छुट दिएको मानिने छैन ।’
यो कानुनी आधारलाई टेक्दै वितरकले प्रदर्शनलाई निरन्तरता दिने निर्णय लिएका हुन् । वितरकको पत्रपछि सोमबारको लागि पनि हलहरूले ‘पूर्णबहादुरको सारङगी’ शो तय गरेका छन् ।
यसबारे छलफल गर्न आइतबार बेलुका वितरकले निर्मातालाई बोलाएका छन् । ब्याङ्केस इन्टरटेनमेन्टका वितरक उज्वल पौडेलले प्रदर्शनलाई निरन्तरता दिने आफूहरुको निर्णय रहेको बताए ।
पछिल्लो समय वितरण सहमतिलाई चुनौती दिंदै केही निर्माताले वितरकसँगको सहमतिमा फिल्म उतार्ने निर्णय गर्न थालेपछि चलचित्र संघले वितरकसँग छलफल गर्ने बुझिएको छ ।
‘भोलि अर्को कुनै निर्माताले वितरकसँगको सहमतिविनै फिल्म उतार्ने निर्णय गर्ला, यसबारे बोल्ड डिसिजन छलफलले गर्छ’, संघका एक पदाधिकारीले भने, ‘यसले भविष्यका लागि पनि राम्रो नजीर बनाउने विश्वास छ ।’
‘पूर्णबहादुरको सारङ्गी’ले २८ दिनसम्म देशव्यापी ४५ करोड ७४ लाख ग्रस कमाएको छ । त्यसयताको हिसाब सार्वजनिक भएको छैन ।