यसकारण मैले प्रेस चौतारी छाडेको हुँ, अब पत्रकारिताका केही कुरा
पहिलो कुरो, पत्रकारिता लोकतन्त्र जोगाउने अस्त्र हो। के हाम्रो पत्रकारिता त्यस्तो छ?
प्रथमतः केही ब्याख्या गरौं। त्यसपछि मैले किन प्रेस चौतारी छाडे अनि ब्याख्या गर्छु। यो पढाउने होइन, सम्झाउने कोशिश हो। यहि मान्नुहोला। म पत्रकारिताको पनि भुईँमान्छे नै हो।
पत्रकारिता भन्नाले समाचार सङ्कलन, विश्लेषण, प्रकाशन र प्रसारण मार्फत जनतालाई सत्य, तथ्य र सूचनामूलक जानकारी प्रदान गर्ने पेशा हो। यो समाजलाई ज्ञानमूलक, आलोचनात्मक र सशक्त बनाउने महत्वपूर्ण माध्यम हो। पत्रकारिताको भूमिका लोकतन्त्रको चौथो अंगका रूपमा रहेको छ, जसले सरकार, समाज र जनताबीच सम्बन्ध स्थापित गर्ने काम गर्छ।
पत्रकारिताको मुख्य उद्देश्य सत्यको अन्वेषण र प्रसारण हो। यो काम निष्पक्ष, जिम्मेवार र तटस्थ ढङ्गले गरिनुपर्छ।
पत्रकारिता समाजको ऐना हो, जसले सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र अन्य पक्षहरूलाई उजागर गर्छ। यसले समाजको वास्तविकता प्रस्तुत गरी सुधारका लागि आवाज उठाउँछ।
पत्रकारिताले जनताका लागि सत्य सूचना उपलब्ध गराई उनीहरूको विचार निर्माणमा सहयोग गर्छ। यसले जनतालाई जागरूक बनाउने मात्र होइन, सशक्त बनाउने भूमिका पनि निर्वाह गर्दछ।
पत्रकारिताले अन्याय, विभेद, भ्रष्टाचार र असमानताका विरुद्ध आवाज उठाउँछ। यो सामाजिक न्याय र मानव अधिकारको सुनिश्चितताका लागि महत्त्वपूर्ण उपकरण हो।
पत्रकारिताले शिक्षा, स्वास्थ्य, वातावरण, प्रविधि जस्ता क्षेत्रमा जनचेतना फैलाएर मानिसलाई नयाँ कुरा सिक्न र बुझ्न सहयोग गर्छ।
‘पत्रकारिता भनेको सत्य बोल्न डराउँदैन; यसले सत्यको पक्षमा दृढता देखाउँछ।’
यो भनाईको पर्याय बन्ने मेरो ध्येय हो। ‘लोकतन्त्रमा प्रेस स्वतन्त्रता भनेको सूर्यको प्रकाशजस्तै हो। यसले समाजलाई उज्यालो बनाउँछ।’
तर पत्रकारिता सूर्य र रुखमा रुमल्लियो।
महात्मा गान्धी भन्थे,‘पत्रकारिताको आत्मा भनेको सत्य, तथ्य र निष्पक्षताको सेवा गर्नु हो।’
महात्मा मरिसके। उनीसितै गयो यो आदर्श।
केही पत्रकारिताका माध्यमहरूमा पूर्वाग्रह देखिने गरेका छन्, जसले सत्यको खोजीलाई चुनौती दिन्छ।
अनलाइन समाचार र सामाजिक सञ्जालका कारण गलत सूचनाको फैलावट तीव्र भइरहेको छ।
कतिपय अवस्थामा पत्रकारहरूमाथि दमन हुने र स्वतन्त्रतामाथि अंकुश लगाइने समस्या देखा परेको छ।
पत्रकारिता समाजको मेरुदण्ड हो। सत्यतथ्यमा आधारित, निष्पक्ष र जिम्मेवार पत्रकारिताले मात्र समाजलाई न्यायसंगत, शिक्षित र सशक्त बनाउन सक्छ। पत्रकारहरूलाई आफ्नो पेसाप्रति इमानदार र प्रतिबद्ध रहँदै जनताको पक्षमा सत्यको आवाज उठाउनु पर्दछ।
पत्रकारिताको सशक्तिकरणले मात्र समाजलाई सही दिशा दिन सक्छ। सत्यकै सेवामा रहने पत्रकारिताको महत्व सदैव उच्च रहनेछ।
अब मैले किन प्रेस चौतारी छाडेको घोषणा गरें?
प्रेस चौतारी नेपालको पहिलो र यो दोस्रो कार्यकालकालको पनि केन्द्रीय सदस्य थिएँ। जो, मैले त्यागीसकें।
राजनीतिले गाँजेको सबैभन्दा भयानक क्षेत्र पत्रकारिता हो। जसले चेक एन्ड ब्यालेन्स गर्नुपर्ने त्यो सत्ता गठबन्धनको गुलाम जस्तो त्यही शैलीमा गठबन्धन गर्न मिल्छ?
मेरो उत्तर हो– मिल्दैन।
म भन्छु– पत्रकारिता दलकारिता होइन। पत्रकारिता सत्ताकारिता होइन। आवाज बिहिनको आवाज बन्ने कि दलको सुँगा? यो प्रश्नले मलाईँ सँधैभरी मलाई सुत्न दिन्न।
उम्मेदवारी तयारी गर्ने चिजको संस्थागत निर्णय नगर्ने अनि सीमित मान्छेको अधिनस्थ हुने चिजले पोल्छ। उर्दी जारी गर्ने अनि बौद्धिक संगठनका मानिसले त्यसैमा भोट हाल्छन् भने दुईटा कुरा हुन्छन्। कि ति पत्रकार हुन्छन् कि बौद्धिक हैनन्।
मेरो निचोड के हो भने यसरी महासंघको चुनावमा दलगत आह्वान हुन्छ र म त्यसको बिरोधी भएका कारण, संस्थागत जानकारी नदिएका कारण मैले राजीनामा घोषणा गरेको हो। नेताका गुलामलाई सलाम, तिमीहरुले पत्रकारिता सिक्न आवश्यक छ।