लैंगिक हिंसा विरुद्धको कचहरी नाटक प्रदर्शन
मोरङ। लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘हामी सबैको प्रतिवद्धताः लैंगिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ कचहरी नाटक प्रदर्शनी गरिएको छ ।
मंसिर २० गतेबाट पथरीशनिश्चरे नगरपालिकाबाट प्रदर्शन सुरु गरिएको नाटक नगरको विभिन्न क्षेत्रहरुमा प्रदशन भई रहेको कार्यक्रम संयोजक जिवन बरालले जानकारी दिनु भयो ।
नाटकमा लैंगिक हिंसाका तिन ओटा समस्या देखाईएको छ । सार्वजनिक स्थलमा हुने हिंसा, राम्रो घरानामा हुने विभिन्न हिंसा तथा घर वाहालमा पसल थाप्ने एकल महिलाको समस्या तथा उनिहरुले भोग्नु पर्ने हिंसाको बारेमा तयार भएको छ । यसरी प्रस्तुत गरिएको कचहरी नाटक समस्यामा गएर रोकिन्छ । र त्याहाँ उपस्थित भएको नागरिकहरुले त्यस समस्याको समाधान निकाल्ने प्रयास गरिन्छ । ती समस्याहरु चिर्न पात्रले के–कस्तो काम गर्छन् र उनलाई कसले सघाउँलान् त ? यो प्रश्नबारे रंगकर्मी र दर्शकहरूमाझ छलफल हुन्छ । त्याहाँ उपन्न भएका समस्याहरुलाई त्यतिबेलै दर्शकबाट हल निकालिन्छ ।
यी तीन विषय निकालिएको नाटकमा कलाकारहरू सुमन कुइकेल, पुजन खरेल, सुवासचन्द्र खरेल, पारुमा राई, रोशन मुर्मु, प्रविन भण्डारी, आयुश खतिवडा, बुङ्छेङले लगायतले जीवन्त अभिनय गर्नुभएको छ । सो नाटकको निर्देशन सिजल दाहालले गर्नुभएको हो भने संयोजन शब्द थिएटरका जीवन बरालले गर्नुभएको हो । नाटक पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा तयार भएको हो ।