Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल प्रिमियर लिग 

यी हुन् एनपीएलमा हालसम्मका उत्कृष्ट खेलाडी, कसले लैजाला ओमोडाको गाडी?

सोमबार, मंसिर २४, २०८१

काठमाडौं– मंसिर १५ गतेदेखि सुरु भएको नेपाल क्रिकेट संघ (क्यान)को आयोजनाको नेपाल प्रिमियिर लिग (एनपीएल)का नौ दिनमा १५ खेल सम्पन्न भएका छन्। 

यस क्रममा ८ वटा फ्रेन्चाइजका चार र तीन गरी १५ खेल आइतबारसम्म सकिएका छन्। यसक्रममा जनकपुर बोल्ट्सले चार खेल जित निकालेको छ भने सुदूरपश्चिम रोयल्सले ३ खेलमा जित निकालेको छ।

लिग चरणका खेलमा चितवन राइनोजले पनि तीन खेल जितेको छ भने काठमान्डु गुर्खाज, पोखरा एभेन्जर्स र बिराटनगर किङ्सले एक–एक मात्र जित निकालेका छन्। 

लुम्बिनी लायन्सले एउटा पनि जित निकाल्न सकेको छैन।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी एनपीएलका अन्य १७ खेल बाँकी छन्। 

आठ वटा टोलीका खेल हेर्नका लागि दर्शकले रुची देखाएका छन् भने नेपाली क्रिकेटको छुट्टै उचाई हुने विश्वास लिइएको छ। 

एनपीएलका विविध रोचक पक्ष र पुरस्कार पनि छन्। ओभरसिजका खेलाडीबाहेक फ्रेन्चाइजमा आबद्ध नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको खण्डमा शारडा समूहको ओमोडा गाडी पाउने घोषणा भएको छ। 

जसको चर्चा लाइभ ब्रोडकास्ट गरिरहेको एक्सन स्टार स्पोर्टस्ले पनि गरिरहेको छ। 

ब्याटिङ, बलिङ र अलराउन्ड प्रदर्शन गर्ने मध्य एक जनाले उक्त गाडी पाउनेछन्। 

प्रथमतः सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीका विषयमा चर्चा गरौं। 

सबैभन्दा बढी रन बनाउने अहिलेसम्मका नेपाली खेलाडीमा रोहित पौडेल रहेका छन्। ओभरसिजका खेलाडीलाई समेत पछि पार्दै उनी पहिलो स्थानमा रहेका छन्। 

हालसम्म राष्ट्रिय टोलीका समेत कप्तान रहेका लुम्बिनी लायन्सका मार्की पौडेलले चार खेलमा एक जित निकाल्न नसके पनि सर्वाधिक १८१ रन बनाएका छन्। उनको उच्च स्कोर भनेकोचाहिँ पोखरा एभेन्जर्ससँगको खेलमा ९५ रन रहेको थियो। 

एनपीएलमा हालसम्म एक शतकसहित अनेक आर्धाशतक बनाउने खेलाडी बनिसकेका छन्। 

पौडेल चार खेलमा १५५.३१ को स्ट्राइक रेटमा १८१ रन बनाएका हुन्।

सर्वाधिक रनकर्ताको नेपाली खेलाडीको सूचीमा सुदूरपश्चिम रोयल्सका कप्तान तथा स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन्। उनले तीन म्याच खेल्दा २०४.४१ को सानदार स्ट्राइक रेटमा १ सय ४० रन बनाएका छन्। चौथो खेलमा चितवन राइनोजविरुद्ध भने ऐरीको ब्याट चल्न सकेन। उनी एक रन बनाएर पेभिलियन फर्किएका थिए। 

उनले पहिलो खेलमा २४ बलमा पाँच छक्का र तीन चौकासहित अविजित ५७ रनको पारी खेलेका थिए। 

टिमको जितमा ‘नायक’ साबित भएका उनी ‘प्लेयर अफ द म्याच’ घोषित भएका थिए। दोस्रो खेलमा पनि दीपेन्द्रले लय कायमै राखेका थिए। काठमाडौं गुर्खाजविरुद्धको उक्त खेलमा उनले २५ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४३ रन बनाएका थिए। तेस्रो खेलमा लुम्बिनीविरुद्ध पनि दीपेन्द्रको ब्याट चल्यो।

नेपाली खेलाडीको सूचीमा तेस्रो नम्बरमा जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह रहेका छन्। उनले चार खेलमा अविजित हुँदा ११३ रन बनाएका छन्। यसैगरी लुम्बिनी लायन्सका विवेक यादव चौथो नम्बरमा छन्। उनले ९८ रन बनाएका छन्, हालसम्म। र, खेलको पाँचौ स्थानमा रहेका नेपाली खेलाडी लोकेश बम हुन्। बिराटनगर किङ्सको पहिलो जितका लागि महत्वपूर्ण ७१ रनको पारी खेलेका उनले हालसम्म ९७ रन बनाएका छन्।

यस्तै बलिङ तर्फ पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडी कम छैनन्। 

जनकपुर बोल्ट्सका ललित राजवंशीले चार खेलमा ९६ बलमा ८८ रन दिएर ८ विकेट लिएका छन्।

यस्तै चार खेल खेलेको कर्णाली याक्सका विपिन शर्माले हालसम्म ७२ बलमा ५९ रन दिएर ६ विकेट लिएका छन्। 

सुदूरपश्चिम रोयल्सका अबिनाश बोहराले ८४ बलमा ९५ रन दिएर ६ विकेट लिएका छन्।

यस्तै चितवन राइनोजका रिजन ढकालले एक सय रन दिँदै ६ विकेट लिँदा ८३ बल गरेका छन्।  

अब बाँकी रहेका १७ खेल मध्य लिग चरणमा कसले धेरै रन बनाउला वा कसले बढी विकेट लिनेछ र समग्रतामा उत्कृष्ट खेल्नेछ भन्ने एकातिर कौतुहलता छ भने अर्कातिर फाइनलसम्म पुग्दा रनको बर्षा कस्तो होला भन्ने पनि पर्खाईको विषय छ। 

हालसम्मको अवस्था हेर्दा ओमोडा गाडी चढ्ने दाबेदारी यहि हो भन्न नसके पनि अहिलेसम्म नाम आएका खेलाडीहरुको प्रतिस्पर्धा तिब्र हुन सक्ने संकेताहिँ मिलेको छ। 
 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्