‘पूर्णबहादुरको सारङ्गी’ विवाद चर्कियो, सेभेन सिजलाई चलचित्र संघको झनै कडा चेतावनी (विज्ञप्तिसहित)
काठमाडौं– रेकर्ड ब्रेक कमाई गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को विवाद झनै चर्किएको छ। यो विवादमाझ नेपाल चलचित्र संघले झनै कडा चेतावनी दिएको छ।
फिल्मका निर्माता विनोद पौडेलले शोमा विभेद भएको भन्दै सोमबारबाट प्रदर्शन स्थगन गर्ने घोषणा गरेका थिए।
निर्माताको निर्णय वितरकले मान्न तयार भएनन्। दुई पक्षबीच भएको सहमतिपत्रको एक बुँदाले वितरकलाई प्रदर्शन जारी राख्न अधिकार दिएकाले निर्माताले चाहेर पनि फिल्म उतार्न सकेनन्।
अन्ततः वितरकसँगको छलफलपछि फिल्मको प्रदर्शनलाई निरन्तरता दिन निर्माता तयार भएका छन्। सोमबार बिहान विज्ञप्तिमार्फत् यसबारेमा जानकारी गराइएको हो।
तर प्रदर्शक र वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले एक विज्ञप्ति जारी गर्दै एउटा ठूलो निर्णय गरेको छ।
फिल्मको निर्माता कम्पनी सेभेन सिज सिनेमाले प्रदर्शन स्थगनको विषयमा स्पष्ट धारणा नराख्दासम्म यो कम्पनीका कुनै फिल्म प्रदर्शन नगरिने संघले विज्ञप्तिमार्फत भनेको छ।
‘मंसिर २३ गते सेभेन सिज सिनेमाले ‘पूर्णबहादुरको सारङ्गी’को प्रदर्शन स्थगित सम्बन्धमा जारी विज्ञप्तिमा नेपाल चलचित्र संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ संघले भन्यो,‘जबसम्म सेभेन सिज सिनेमाले यस सम्बन्धमा नेपाल चलचित्र संघलाई आफ्नो धारणा स्पष्ट पार्दैन, तबसम्म सेभेन सिज सिनेमाले निर्माण गर्ने वा वितरण गर्ने कुनै पनि चलचित्र नेपाल चलचित्र संघको सदस्यहरुले प्रदर्शन नगर्ने जानकारी गराउन चाहन्छौं।’