पोखरादेखि काठमाडौं अनि सिमरामा उतारेर पर्सा सरकारी वकिलकहाँ लगिँदै रवि लामिछाने
काठमाडौं– रास्वपा सभापति रवि लामिछानेलाई सोमबार बयानका लागि कास्की प्रहरी हिरासतबाट जिल्ला सरकारी वकिलको कार्यालय पर्सामा लैजान जहाज चढाइएको छ।
लामिछानेलाई पोखरा विमानस्थलबाट काठमाडौं ल्याइने र यहाँबाट बाराको सिमरा विमानस्थलमा उतारेर पर्सा लगिनेछ।
सानोपाइला सहकारीको बचत रकम सम्बन्धी अपचलन आरोपमा बयानका लागि लामिछानेलाई पर्सा लगिँदैछ।
लामिछाने बुद्ध एयरको जहाज चढिसकेका छन्। गएराति नै पूर्वडिआइजी छविलाल जोशी र नेचर्स हर्ब्सका संचालक रामबहादुर खनाललाई पर्सा पुलगिसकिएको छ।
सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्क र नेचर्स हर्ब्समा रकम गएको देखिएपछि प्रहरीले उनीहरूविरूद्ध पुर्जी लिएको हो।
उक्त सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ८ करोड भन्दा बढी रकम प्रवाह भएको देखिएको थियो।
लामिछाने र जोशीलाई आइतबार जिल्ला अदालत कास्कीबाट थप चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो।