नेभिगेशन
विश्व

ट्रम्पले प्रशासन हातमा लिएपछि अमेरिकामा बच्चा जन्माउने विदेशीलाई छैन फाइदा

काठमाडौं– बच्चा जन्माउनकै लागि अमेरिका पुग्ने या त्यस्तो सोच राख्नेका लागि दुखद खबर छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले प्रशासन चलाएको पहिलो दिनदेखि नै जन्मसिद्ध नागरिकता खारेजीको घोषणा गर्ने दाबी गरेका छन्। उनले त्यसो गरेको खण्डमा अमेरिकामा बच्चा जन्माएर नागरिकता दिलाउने र आफू पनि संरक्षकका रुपमा पलायन हुने नेपालीसहितका अन्य देशका नागरिकलाई समस्या हुनेछ।

एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले कार्यकालको पहिलो दिनमा नै जन्मको आधारमा अमेरिकी नागरिकता पाउने अधिकार खारेज गर्ने बताएका हुन्।

अमेरिकी संविधानको १४औँ संशोधन अनुसार अमेरिकामा जन्मेका कुनै पनि बालबालिकाले जन्मिनबित्तिकै अमेरिकी नागरिकता पाउँछन्। 

अन्तर्वार्ताका क्रममा ट्रम्पले नाटोका बारेमा राष्ट्रपति बनेपछि आफू त्यसबाट बाहिरिने विषयमा गम्भीरतापूर्वक विचार गर्ने बताएका छन्। उनले गर्भपतन चक्की प्रतिबन्ध नगर्ने वाचा पनि गरे।

यसैगरी, ट्रम्पले राष्ट्रपति बनेलगत्तै क्यापिटल हिल घटनाका दोषीलाई माफी दिने पनि वाचा गरेका छन्। सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भएपछि जनवरी ६, २०२१ मा उनका समर्थकहरू क्यापिटल हिल (अमेरिकी संसद्)भित्र पसेर लुटपाट गरेका थिए।

उनले उक्त अन्तरवार्तामा अवैधानिक हिसाबले बसेका आप्रवासीलाई निष्काशन गर्ने विषयलाई फेरि पनि निरन्तरताका साथ जोड दिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व