Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस कार्यसम्पादन समिति बैठकमा शेखर कोइरालालाई नेताहरूले यस्तो भनेछन्, ‘बरिष्ठ’ खाली छ

सोमबार, मंसिर २४, २०८१

काठमाडौं– सभापति शेरबहादुर देउवा प्रमुख अतिथि रहेको कांग्रेसको कोशी सम्मेलनमा अनुपस्थित डा. शेखर कोइरालालाई अन्य नेताहरूले कार्य सम्पादन समितिको बैठकमा केही सुझाव दिएका छन्।

पार्टीका काम कारबाहीप्रति त्यति खुशी नदेखिएका कोइरालालाई असन्तुष्टि बाहिर राख्ने भन्दा पनि बैठकलगायतका विभिन्न फोरममा दर्शाउन सुझाव दिएका हुन्। 

सोमबार कार्यसम्पादन समितिको बैठक भएको थियो। 

‘पार्टी पङ्तिका बीचमा हामी एकताबद्ध भएर जानुपर्छ, कुनै मनमुटाव वा असन्तुष्टि कुनै नेताको छ भने पार्टीकै निकायमा छलफल गर्नुपर्छ’, प्रवक्ता प्रकाशशरण महतले भने,‘कांग्रेसभित्र ठूलो मतभिन्नता रहेछ भन्ने किसिमले बाहिर प्रस्तु हुनु हुँदैन भन्ने कुरा नै बैठकमा अभिव्यक्त गर्ने साथीहरूले राख्नुभएको छ।’ 

उनले सन्तुष्टि वा असन्तुष्टिका विषय पार्टीभित्रै छलफल गरिनुपर्नेमा जोड दिए। आन्तरिक विषयलाई बाहिर छलफल गर्ने विषय बनाउन नहुने प्रवक्ता महतले बताए।

कोइराला बरियतामा तल रहेका कारण कोशी सम्मेलनमा सहभागी नभएको बताइएको थियो। तर कोइरालाले त्यसदिन चितवनमा कार्यक्रम रहेका कारण त्यहाँ जानु परेको बताएका थिए। 

महाधिवेशनमा सभापति पदमा पराजित भएका कोइराला संस्थापनइतरका नेता हुन्। कांग्रेसको यसअघिको परम्पराअनुसार सभापतिका प्रतिस्पर्धी नेतालाई ‘बरिष्ठ नेता’को उपमा दिने गरिएको थियो। 

तर सभापति देउवाले कोइरालालाई बरियतामा २२ औं नम्बरमा राखेका छन्। सबै पदाधिकारीपछिको बरियतामा राखिएका कारण पनि कोशी सम्मेलनको कार्यक्रममा कोइराला सहभागी नभएको दाबी गरिन्छ।

हुन पनि उनको प्यानलबाट महाधिवेशनमा महामन्त्रीमा जित निकालेका गगनकुमार थापाभन्दा कोइरालाको बरियता निक्कै तल छ। 

नेपाली कांग्रेसमा यस्तो बरिष्ठताको विषयलाई सभापति देउवाले नै निरन्तरता दिएका थिए। हालका राष्ट्रपति रहेका रामचन्द्र पौडेलले १३औं महाधिवेशनमा पराजित भएपछि देउवाले बरिष्ठ नेता बनाएका थिए। 

यो उपक्रमलाई १४औं महाधिवेशनपछि पनि निरन्तरता दिइएको थियो। पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि राजनीतिक आवद्धता स्वतः नहुने हुँदा बरिष्ठ नेताको पद खाली छ। 
 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्