‘एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
काठमाडौँ- काठमाडौँ महानगरपालिकाको ३७औँ कार्यपालिका बैठकले ‘एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि २०८१’ स्वीकृत गरेको छ ।
आज महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको बैठकले ती कार्यविधि स्वीकृत गरेको हो । एग्रो पुलिङ कामपाको स्वर्णिम योजना हो । अन्य पालिका र साझेदारसँगको सहकार्यमा महानगरवासीलाई गुणस्तरीय, स्वच्छ, ताजा खाद्यान्न तथा कृषिजन्य उत्पादन उचित मूल्यमा उपलब्ध गराउन उत्पादन तथा बिक्री वितरण गर्ने व्यवस्था यसमा गरिएको छ ।
महानगरले कृषि उत्पादनका पकेट क्षेत्र पहिचान गरिएका स्थानीय तहसँग अग्र्यानिक खाद्यवस्तु उत्पादन गर्ने र वितरणका लागि कामपाभित्रका कृषि सहकारी वा कम्पनीसँग सम्झौता गर्ने जनाइएको छ । उत्पादकले गुणस्तरीय खाद्यान्न उत्पादन गर्ने, गुणस्तर परीक्षण गर्ने र महानगरपालिकामा भएको वितरकसम्म ढुवानी गर्ने काम गर्नुपर्नेछ । उत्पादन, प्रशोधन तथा ढुवानीमा लाग्ने खर्च सम्बन्धित पालिकाले स्वीकृत गरेको दरमा गर्नुपर्ने र महानगरले प्रविधि, अनुदान, जनशक्ति र भौतिक सामान सहयोग उपलब्ध गराउनेछ ।
पकेट क्षेत्रमा उत्पादन हुने वस्तुलाई विभिन्न आठ समूहमा बाँडिएको छ । यसअनुसार चामल, गहुँ, मकै, कोदो, फापर एउटा, मास, मुसुरो, रहर र मुङ दाल दोस्रो, सिमी, भटमास, गहत र बोडी तेस्रो समूहमा राखिएको छ । आलु, तरुल, पिँडालुजस्ता खाद्यान्न चौथो र लसुन, प्याज, अदुवा, बेसार, खुर्सानी, टिमुर पाँचौँ समूहमा छन् ।
छैटौँ समूहमा तेल, घिउ र दुग्धजन्य पदार्थ, माछा, अण्डा, कुखुरा, खसी र राँगाको मासु सातौँ तथा मौसमी हरियो तरकारी र फलफूल आठौँ समूहमा राखिएको छ । यी खाद्यान्न उत्पादन हुने ठाउँ पकेट क्षेत्र हुन सक्नेछन् ।
बैठकले ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि २०८१’ पनि पारित गरेको छ । कार्यविधिअनुसार सजावट वा सुन्दरताका लागि कुनै पनि बोटबिरुवामा लहरेबत्ती राख्न पाइँदैन । अन्य व्यावसायिक तथा सार्वजनिक स्थानमा बत्ती राख्न वातावरण व्यवस्थापन विभागका अनुमति लिनुपर्नेछ ।
सजावट र सुन्दरताका लागि राखिएका बत्तीको गुणस्तर, जनस्वास्थ्य र वातावरणमा पार्ने नकारात्मक प्रभाव, प्राणी र जीवहरूको बास, आहार तथा आवतजावतमा पार्ने असर घटाउने विषय यसमा समेटिएका छन् । कार्यविधिमा जात्रा पर्वमा प्रयोग गरिने बत्तीहरू बढीमा सात दिनसम्म राख्न सकिने व्यवस्था गरेको महानगरले जनाएको छ ।