Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुर्गा प्रसाईंले व्यापारी धम्क्याउन ५ लाख दिएको पुष्टी, संगठित अपराधमा पनि अनुसन्धानको अवस्था

सोमबार, मंसिर २४, २०८१

काठमाडौं– भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको मान्छे भन्दै नेपालका विभिन्न व्यक्तिलाई धम्की दिएको अभियोगमा अनुसन्धानका क्रममा रहेका झापाका हरिचन्द्र फुयाँललाई विवादीत व्यावसायी दुर्गा प्रसाईंले ५ लाख रकम दिएको पुष्टि भएको छ।

उनलाई आपराधिक लाभमा अनुसन्धानमा रहेका फुयाँलसहित अन्य फरार ६ जनासँगको सम्पर्क भए नभएको आधारमा संगठित अपराधमा पनि अनुसन्धान हुन सक्ने अवस्था आएको छ। 

थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा सोमबार लगिएका प्रसाईमाथि थप अनुसन्धान हुनेछ। 

सोमबार सीआईबीले आपराधिक लाभ (एक्सटर्शन)को कसुरमा अनुसन्धान गर्न प्रसाईंलाई लाजिम्पाटस्थित आफ्नो कार्यालयमा लगेको हो। 

प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेर साइबर ब्यूरोलाई बुझाएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि उनी पक्राउ गरिएका थिए। 

साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि प्रसाईंलाई सीआईबी लगिएको हो।

सीआईबीको टोलीले १४ मंसिरमा झापाको मेचीनगर–१३ का फुयाललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। उनले पनि प्रारम्भिक चरणको बयानमा दुर्गा प्रसाईले रकम दिएर धम्क्याउन लगाएको बताएका थिए। 

अनुसन्धानका क्रममा तेस्रो व्यक्तिमार्फत प्रसाईले फुयाललाई रकम पठाएको खुलेको हो। व्यवसायीहरूले धम्की आएको उल्लेख गरेको मितिमा मात्रै उनीहरूबीच १०० बढी पटक फोन सम्पर्क भएको अनुसन्धानका क्रममा खुलेको छ। 
 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्