नागरिकका गुनासो सुन्न ‘हेल्लो स्वास्थ्य’
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेल्लो स्वास्थ्य’ सेवा सुरुआत गरेको छ ।
स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासा टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल तथा हुलाकबाटसमेत पठाउन यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
टेलिफोन नम्बर ‘१११५’ मा फोन गरेर, भाइबर र ह्वाट्सएप ‘९८५१३३०५९२’ नम्बरमा आफ्ना गुनासा सन्देशमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ ।
यसैगरी इमेलमार्फत ‘हेल्लो हेल्थ एट एमओएचपी डट जिओभी डट एनपी’ मा पनि गुनासा पठाउन सकिनेछ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न इकाइ स्थापना गर्ने मन्त्रीस्तरिय निर्णयपछि हेल्लो स्वास्थ्य स्थापना गरिएको जनाइएको छ ।
गुनासो सम्बोधन गर्न मन्त्रालयका प्रमुख कन्सल्ट्यान्ट ट्रपिकल मेडिसिन डा. अनुप बाँस्तोलाको संयोजकत्वमा गत मङ्सिर १४ गते इकाइ गठन गर्ने निर्णय गरिएको थियो । इकाईमा सूचना अधिकारी डा भक्तबहादुर केसी, सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी तथा शाखा अधिकृत गौरीप्रसाद आचार्य सदस्य छन् ।
यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा रहेको हटलाइन नम्बरमा अरु माध्यमसमेत थप गरेर गुनासो तथा सेवासम्बन्धी जानकारी लिने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।