‘पुष्पा २’ ले ४ दिनमा कति कमायो ?
काठमाडौं- सुकुमार निर्देशित ‘पुष्पा २ : द रुल’ सवैभन्दा चाँडो ८ सय करोड क्लवमा प्रवेश गर्ने भारतीय सिनेमा बनेको छ ।
गत डिसेम्बर ५ तारिखबाट विश्वव्यापी प्रदर्शनमा आएको सिनेमाले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ ।
सोमबार सिनेमाको निर्माण कम्पनि मैत्री मूभिज मेकर्सले ‘पुष्पा २’ले पहिलो वीकेण्डमा विश्वव्यापी ८ सय २९ करोड ग्रसकलेक्सन गरेको जानकारी दिएको छ । यो सिनेमाले तेलुगुसँगै हिन्दी भाषामा पनि आक्रामक व्यापार गरिरहेको छ ।
बिहीबार ७२ करोडको ओपनिङ गरेको सिनेमाले शुक्रबार ५९ करोड, शनिबार ७४ करोड र हिजो आइतबार ८६ करोड कराउँदै चार दिनमा हिन्दी भाषामा मात्रै २ सय ९१ करोड भारु कमाइ गरेको बलिउड ट्रेड एनालिस्ट तरण आर्दशले जानकारी दिएका छन् ।
यस्तै, सवैभन्दा छिटो ५ दिनमा तीन सय करोड क्लबमा प्रवेश गर्ने सिनेमा समेत ‘पुष्पा २’ बनेको उनले जानकारी दिएका छन् । आज सोमबार सिनेमा तीन सय करोड क्लवमा प्रवेश गर्ने उनले ट्वीटर मार्फत् जानकारी दिएका हुन् ।
यसअघि शाहरुख खानको ‘जवान’ सवैभन्दा छिटो ६ दिनमा तीन सय करोड क्लबमा प्रवेश गरेको उल्लेख बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले गरेका छन् ।
भारतमा मात्रै नभई पुष्पा २ ले नेपालमा समेत आक्रामक व्यापार गरिरहेको छ । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको सिनेमा नेपाली हलमा आज पाँचौं दिनमा समेत करिब ५ सय शोसहित प्रदर्शन भैरहेको छ ।
सुकुमारको निर्देशन तथा लेखनमा निर्माण भएको सिनेमामा अल्लू र फहादसहित रश्मिका मन्दाना, सुनिल बर्मा, धनन्जय, जगपति बाबू, अनसुया भारद्वाज लगायतको अभिनय छ । ५ सय करोड भारुमा निर्माण भएको सिनेमाले प्रदर्शन अगावै विभिन्न राइट्सबाट लगानी सुरक्षित गरिसकेको छ ।