रवि लामिछानेलाई पर्सा पुर्याइयो
काठमाडौं - प्रहरीले सहकारीको रकम अपचलन आरोप अनुसन्धानका लागि हिरासतमा रहेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि पर्सा पुर्याएको छ ।
लामिछानेलाई पोखराबाट आज जहाजमा काठमाडौं हुँदै सिमरा पुर्याइएको र त्यहाँबाट गाडीमा वीरगञ्ज लगिएको हो ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई भने पोखराबाटै सडकमार्ग हुँदै वीरगञ्ज पुर्याइएको प्रहरीले जनाएको छ । उनीहरूमाथि वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ ।
यसअघि लामिछाने र जोशीमाथि छानबिन गर्न कास्की जिल्ला अदालतले आइतबार ४ दिनको म्याद थप गरेको थियो ।लामिछानेलाई गत कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंबाट पक्राउ गरी कास्की ल्याइएको हो ।
लामिछानेमाथि अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन, १३ दिन, १५ दिन र आइतबार ४ दिन म्याद थप गरिएको हो ।