Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुदूरपश्चिम र कर्णालीमा दिनभर हिमपात

सोमबार, मंसिर २४, २०८१

काठमाडौँ - देशका उच्च पहाडी तथा हिमाली भू-भागमा सोमबार बिहानैदेखि हिमपात भएको छ । विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा चिसो बढेसँगै हिमपात भएको हो ।

हिमपातपछि हिमाली क्षेत्रको जनजीवन पनि प्रभावित भएको छ । वर्षासँगै भएको हिमपातले बालीनालीलाई भने फाइदा पुर्‍याएको छ । आइतबारदेखि मौसममा आएको परिवर्तनपछि सोमबार बिहान हिमाली जिल्लाहरूमा हिमपात भएको हो ।

दार्चुला, अछाम, बझाङ, हुम्ला, डोटी लगायतका ठाउँमा यो वर्षको पहिलो पटक हिमपात भएको हो ।

हुम्लाको सदरमुकाम सिमकोट, नाम्खा गाउँपालिकाको उत्तरी भेग चाला, लिमी, हिल्सा, यारी लगायतका ठाउँमा हिमपात भएको हो । त्यस्तै, दार्चुलाको खण्डेश्वरी, राप्ला, घुसा लगायतका क्षेत्रमा हिमपात भएको छ ।

डोटीको बडिकेदार गाउँपालिकाका केही क्षेत्रमा पनि दिनभर हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, कोशी लगायतका क्षेत्रमा साधारणदेखि पूर्णतया बदली भएको छ ।

बाँकी प्रदेशका भू-भागमा आंशिक बदली भएको महाशाखाले जनाएको छ । त्यस्तै, मध्य र पूर्वी तराईका धेरै भू-भागमा हुस्सु र थोरै भू-भागमा कुहिरो लागेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  २१:०९
प्रतिक्रिया दिनुहोस्