Nic Ad Nic Ad
Nic Ad Nic Ad
खेलाडी

नेपालका शीर्ष ९ धनी खेलाडीहरूको सूचीः वार्षिक करोडसम्म छ कमाई

मंगलबार, मंसिर २५, २०८१

काठमाडौं– नेपालमा खेलकुद मात्र प्रतिभाको प्रदर्शन गर्ने माध्यम होइन, यो अब एक महत्वपूर्ण व्यवसायिक क्षेत्र पनि बनेको छ। 

नेपाली खेलकुदका केही खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत वार्षिक करोडसम्म कमाई गर्दै उदाहरणीय उपलब्धि हासिल गरेका छन्। 

यसरी खेल क्षेत्रबाट पनि मनग्य आम्दानी गर्ने विभिन्न विधाका ९ शीर्ष खेलाडी सूचीको १ नम्बरमा छन् फूटबलर रोहित चन्द। इन्डोनेसियाको पर्सिजा जकार्ता क्लबमा रोहित मुख्य खेलाडीका रूपमा खेल्छन्। उनी क्लबबाट ठूलो पारिश्रमिक, बोनस, र प्रायोजनबाट आय प्राप्त गर्छन्।

वार्षिक आय करोडभन्दा बढी छ। इन्डोनेसियामा “वर्षको उत्कृष्ट खेलाडी’’ घोषित भएका उनले बार्षिक ७० देखि ८० लाखसम्म कमाई गर्ने बुझिएको छ। यसबाहेक उनको आम्दानीका अन्य स्रोतमा विज्ञापनलगायत पनि रहेको बुझिन्छ।

उनले नेपाली फूटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो योगदान दिएका छन्। उनका प्रदर्शनले नेपाली फूटबलप्रति विदेशी क्लबहरूको चासो बढाएको छ।

६ करोडको घर किनेर चर्चामा आएका नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान तथा हाल चलिरहेको नेपाल प्रिमियर लिगको बिराटनगर किङ्सका मार्की तथा कप्तान सन्दीप लामिछाने राम्रो कमाई गर्ने अर्का खेलाडी हुन्। नेपालको प्रिमियर लिगसहित आईपीएल, बिग ब्यास लिग, सीपीएल, र विभिन्न फ्रेन्चाइज टी–२० लिगमा उनले सहभागीता जनाइसकेका छन्।

उनी नेपाली क्रिकेटका सबभन्दा चर्चित खेलाडी हुन्। वार्षिक आय करोडभन्दा बढी रहेको बताइएको छ। नेपाल प्रिमियर लिगमा मात्र उनले २० लाख लिएका छन् भने यसबाहेक विभिन्न ब्रान्डका एम्बेस्डर र विज्ञापन खेलेवापत पनि राम्रो पारिश्रमिक कमाउँछन्।

सन्दीपले अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको मान बढाएका छन्। उनको बलिङले आईपीएल जस्ता प्रतियोगितामा चर्चा बटुल्न सफल भएको थियो।

यसैगरी राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अर्का खेलाडी दीपेन्द्रसिंह ऐरी पनि राम्रो आम्दानी गर्नेमा पर्छन्। उनीहरूले नेपाल प्रिमियर लिगमा मार्की खेलाडीका रुपमा २०–२० लाख पाएका छन् भने क्यानडाको लिगमा आबद्ध रहेका कारण २०–२० लाख पाएका छन्।

राष्ट्रिय टोलीबाट उनीहरूले बार्षिक २५–२५  लाख रुपैंया पारिश्रमिक पाउँछन्। कतिपय कम्पनी, संस्था र सरकारले नै खेल जितेवापत दिने पुरस्कार पनि उनीहरुको आम्दानीको अर्को स्रोत बनिरहेको छ। 

यसबाहेकका पनि विभिन्न ब्रान्ड र विज्ञापनमा रोहित र दीपेन्द्रले अलग आम्दानी गर्दै आएका छन्। 

यहि सूचीका अर्का खेलाडी हुन् दीपक राई। उनी फूटसल र फूटबलमा ख्याती र पारिश्रमिक कमाउनेमा पर्छन्।  दीपक फूटसल र फूटबल दुवैमा सक्रिय छन्। फुटसल लिग र विज्ञापनबाट ठूलो आम्दानी गर्छन्।

उनी नेपाली फूटसलमा एक अग्रणी खेलाडीका रूपमा चिनिन्छन्। उनका खेलकौशलले फुटसललाई नेपालमा लोकप्रिय बनाउन मद्दत गरेको छ। उनको पनि बार्षिक कमाई करोडको हाराहारीमा छ। 

यस्तै सूचीमा पर्छिन् पौडीबाज गौरिका सिंह। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट पुरस्कार र प्रायोजन उनको आम्दानीका मुख्य स्रोत हुन्। गौरिका नेपालकी सफलतम पौडीबाज हुन्। विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डसँगको सहकार्यबाट ठूलो आम्दानी गरिरहेकी छन्। 

गौरिका सन् २०१६ मा ओलम्पिकमा सहभागी भएर नेपालका लागि सबैभन्दा कान्छी ओलम्पियन बनेकी थिइन्। उनले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई गर्व गर्नेगरी प्रदर्शन गरेकी छन्।

यहि सूचीका अर्का खेलाडी हुन् अभिषेक रिजाल। फूटबलर रिजाल नेपाली र विदेशी क्लबहरूमा खेलिरहेका छन्। उनी नेपाली फूटबलका उदाउँदा खेलाडी हुन्। उनको खेल शैलीले उनलाई निकट भविष्यमा अझ ठूलो आय गर्ने सम्भावना रहेको देखाउने बताइन्छ।

यहि सूचीका अर्का खेलाडी हुन् नेपाली राष्ट्रिय फूटबल टोलीका कप्तान रहीसकेका किरण चेमजोङ। उनले माल्दिभ्समा फूटबलका लागि गएको खण्डमा एक महिनाको ३ हजार डलर लिनेछन्। यस हिसाबले उनले ५० लाखभन्दा बढी रकम विभिन्न माध्यमले आर्जन गर्नेछन्।

नेपाली महिला राष्ट्रिय फूटबल टोलीकी स्ट्राइकर साबित्रा भण्डारी अहिले फ्रान्समा खेलीरहेकी छन्। साम्बा उपनामले चिनिने उनी अर्की मनग्य आम्दानी गर्ने नेपाली खेलाडी हुन्। 

उनले प्रति महिना ३५ सय डलर लिने गरेकी छन्। यस हिसाबले उनको आम्दानी ५० देखि ६० लाख प्रति महिना रहेको बुझिन्छ। यसबाहेक पनि नेपालका विभिन्न ब्रान्डलगायतको विज्ञापनसहितको कमाई र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले पनि उनलाई पारिश्रमिक दिन्छ।  

यी खेलाडीहरूको सफलता केवल उनीहरूको व्यक्तिगत उपलब्धिमा सीमित छैन। उनीहरूले नेपाली खेलकुदको विकासमा ठूलो योगदान दिएका छन्। उनीहरूको कमाईले देशमा खेल क्षेत्रलाई पेशागत रूपमा अघि बढाउने प्रेरणा पनि दिएको छ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्