गिरिबन्धुको फाइल खोल्न थालेपछि सरकार फेरियो : प्रचण्ड
काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गिरिबन्धु टि स्टेटको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको आरोप लगाएका छन् ।
मंगलवार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाएका हुन् । उनले आफू नेतृत्वको सरकारले दोस्रो चरणमा गिरिबन्धुको फाइल खोल्न थालेसँगै सरकार फेरिएको बताए ।
उनले गिरिबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्ने र भ्रष्टाचारको फाइल खोलिनुपर्ने बताए । उनले भ्रष्टाचार गर्नेहरुमाथि कारबाही हुनुपर्ने बताए ।
‘मैले दोस्रो चरणमा गिरिबन्धु, सर्वोच्च अदालतले पनि आदेश दिइसकेको थियो । र म गिरिबन्धुको फाइल खोल्ने अन्तिम तयारीमा थिएँ । र अहिले गिरिबन्धुको भ्रष्टाचार रोक्नको लागि सरकार सम्पूर्ण शक्तिको साथ अघि बढेको छ । हामी सबैले यसमा खबरदारी गर्न जरुरी छ । गिरिबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्यो’, उनले भने, ‘त्यहाँ भएको भ्रष्टाचारको फाइल खोलिनुपर्यो । उनीहरुमाथि कारबाही गर्नुपर्यो । यहाँ अर्बौं भ्रष्टाचार गर्नेहरु, देशभित्र बाहिर सम्पती राखेको आरोप आइराखेको छ । त्यसलाई छानविनमा सहयोग गर्नुपर्ने ठाउँमा झनै भ्रष्टाचारलाई अझ बढावा दिने जो काम भइरहेको छ । हामी त्यसको निम्ति यो खबरदारी सभाहरुमार्फत सरकारलाई खबरदारी गरी नै रहेका छौँ ।’