स्ट्याण्डर्ड चार्टर्ड बैंकको सिइओमा गोरख राणा: स्थापनाको ३७ वर्षपछि पहिलो नेपाली नेतृत्व
काठमाडौँ - स्थापनाको करिब ३७ वर्षपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले पहिलो पटक नेपाली नागरिकलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ।
सन् २०२५ जनवरी १ देखि लागू हुने गरी, हाल नायब प्रमुख कार्यकारी अधिकृत रहेका गोरख राणा सिइओको जिम्मेवारी सम्हाल्नेछन्। राणा ३० वर्षदेखि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा कार्यरत छन्।
सन् १९८७ मा नेपालमा सञ्चालनमा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकमा हाल अनिर्वाण घोष दास्तिदार सिइओको रूपमा कार्यरत छन्। उनले ६ वर्षदेखि यो पद सम्हालिरहेका छन्।
गत वर्ष विदेशी संयुक्त लगानीको अर्को बैंक, एभरेष्ट बैंकमा पनि पहिलो पटक नेपाली सिइओ नियुक्त भएका थिए।
गोरख राणा दिवंगत राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यकी छोरी श्रुती शाहका पति हुन्। २०५८ सालको दरबार हत्याकाण्डमा श्रुतीसहित राजा वीरेन्द्रका सबै सन्तानको हत्या भएको थियो। राणा र श्रुतीका दुई छोरी छन्।