Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले सचिवालय वैठकले के–के गर्‍यो निर्णय ?

मंगलबार, मंसिर २५, २०८१

काठमाडौं - सत्तरुढ नेकपा एमालेको सचिवालय वैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ । एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमण फलदायी भएको ठहर गरेको हो ।

बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दीर्घकालीन विकासका लागि बीआरआई निकै महत्वपूर्ण भएको बताए।

वैठकले स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समग्रमा पहिलेको भन्दा उपलब्धि हासिल भएको ठहर गरेको छ । उपमहासचिव ज्ञवालीले विगतमा एमालेले जितेका ६ वडा रिक्त भएकोमा यस पटक एक गाउँपालिका अध्यक्ष र २ उपाध्यक्ष समेत थपिएकोले सन्तोषजनक रहेको बताए ।

तर काठमाडौं– १६ र कीर्तिपुरको नतिजालाई गम्भीरतापूर्वक लिएको भन्दै ज्ञवालीले शहरी क्षेत्रमा अपेक्षाकृत परिणाम नआएको बताए । उनले शहरी क्षेत्रको जनमतसँग पार्टीलाई अझ बढी जोड्दै लैजानु पर्ने निष्कर्ष पार्टीले निकालेको उनले जानकारी दिए । एमालेले २ वर्षअघि भएको स्थानीय तह निर्वाचनमा जुन ठाउँमा एउटा पार्टीले जितेको हो, अहिले उपनिर्वाचनमा अर्कोले जितेको भन्दै उनले जनमत परिवर्तन हुनुमा जनप्रतिनिधिको कामको मूल्यांकन समेत जोडिएको बताए ।

यस्तै परराष्ट्र मन्त्रालयले आजै नेपाल र चीनबीच भएको बीआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको छ। मन्त्रालयले वेबसाइटमार्फत सम्झौता सार्वजनिक गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा हस्ताक्षर भएको बीआरआई कार्यान्वयन सम्झौतापत्रको कपी मंगलबार सार्वजनिक भएको हो। फ्रेमवर्कमा १० वटा परियोजना समावेश गरिएको छ ।

जसमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा सिमिकोट सडक, किमाथांका खाँदबारी सडक तथा पुल चाइना–नेपाल क्रश बोर्डर रेल्वे प्रोजेक्ट, डडेल्धुराको अमरगढी सिटी हल, जिलोङ–रसुवागढी–चिलिमे २२० केभी प्रशारण लाइन, मदन भण्डारी साइन्स एन्ड टेक्नोलोजी युनिभर्सिटी, काठमाडौं साइन्टिफिक सेन्टर तथा साइन्स म्युजियम, चाइना–नेपाल फ्रेन्डशिप पार्क र झापा स्पोर्ट्स एन्ड एथ्लेटिक्स कम्प्लेक्स छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्