Nic Ad Nic Ad
Nic Ad Nic Ad

म्याग्दीको कृषि सडक कालोपत्र तयारी

बुधबार, मंसिर २६, २०८१

म्याग्दी - म्याग्दीको बेनी–हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा–१० किलोमिटर कृषि सडक कालोपत्र गर्न धमाधम स्तरोन्नतिको काम सुरु भएको छ । जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर सञ्जय सुवेदीका अनुसार बगरफाँट– दूधेखोला साढे दुई किलोमिटर सडक चौडा बनाउनका साथै पानीको निकासका निम्ति नाली निर्माण गरी ‘ग्राभेल’ सहित स्तरोन्नति थालिएको हो ।

योजनाअन्तर्गत कोटखोलाबाट साढे दुई किलोमिटर सडकलाई आठ मिटर चौडा बनाइने छ भने दूधेखोला–भकिम्ली खण्डमा तीन सय ९० मिटर ढलान गरिने छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट कृषि सडकका लागि रु एक करोड ६० लाख बजेट विनियोजन भएको छ । हाँडेभिर–बगरफाँट दुई किलोमिटर कालोपत्र भइसकेको छ ।

सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा छ सय ५० मिटर र थामडाँडामा सय मिटर नयाँ मार्ग खोलिएको छ । उक्त सडक बेनी नगरपालिका–२ बगरफाँट हुँदै पश्चिम मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको इन्जिनियर सुवेदीले बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्