सदनको अन्तिम प्रयोग हो कांग्रेस–एमाले गठबन्धन, प्रचण्ड कुन ‘अल्जेब्रा’को खोजीमा छन्
काठमाडौं– केपी शर्मा ओली नेतृत्वको हालको सरकार नेपाली कांग्रेस र नेकपा एमालेको अंकगणित मात्र नभई बिजगणित(अल्जेब्रा)को उपज पनि हो। यसैकारण सबै प्रकारका समीकरणको विकल्पमा यो गठबन्धन तयार भएको थियो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयमले पनि अब सत्ताको खेलमा नलाग्ने भनी घोषणा गरेका छन्। उनको चाहनाका आधारमा पनि समीकरण बदलिने सम्भावना कम छ। किनभने नेपाली कांग्रेसले प्रचण्डबाट पाएको धोकाका कारण नै अरुचीबीच ओलीसँगको समीकरण बनाएको थियो।
यता सत्तामा पुगिसकेको कांग्रेसको तिव्र ‘वार’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सित भएका कारणले पनि अन्य समीकरणका सम्भावना तत्कालै बनिहाल्ने स्थिति छैन।
नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले भनेका छन्,‘समीरण अब बदलिनेवाला छैन। यहि समीकरण चुनावसम्म जानेछ।’
अंकगणितमा पनि झन्डै दुई तिहाईको नजिक रहेको यो गठबन्धन निर्माणको आधारचाहिँ फरक अल्जेब्रा बन्यो। यो प्रतिष्ठा र प्रतिस्पर्धाका कारण बनेको समीकरण थियो। प्रचण्डले बारम्बार कांग्रेस र एमालेलाई सत्ता समीकरणमा गरेको प्रयोग र पाएको धोकाको विकल्प मात्र होइन, रास्वपा सभापति रवि लामिछानेको ‘तिव्र प्रयोग’को नीतिको विकल्पमा बनेको गठबन्धन हो।
‘सरकार बनाउने बहुमतका लागि अन्य दलसँगको सहकार्य पनि हुन्थ्यो। तर, खेलाउने काम धेरै भयो। सदनको एउटा ठूलो दल प्रतिपक्षमा बस्नुपर्छ भन्ने मानक थाहा पाउँदा पाउँदै अस्थिरतामा खेल्न रुचाउनेलाई जवाफका लागि समीकरण बन्यो’, एक नेताले भने।
यो भत्किए सरकार बन्नेवाला छैन त्यसैले प्रचण्डले अहिलेदेखि चुनावी भाषण थालिसकेका छन्। मंगलबार चितवनको भाषण त्यसैको एउटा सांकेतिक पृष्ठभूमी थियो।
यो गठबन्धन भत्किए सरकारमा राप्रपा जान्न, रास्वपा कांग्रेसले लिन मान्दैन, एमालेसित रास्वपा जाने नैतिक आधार छैन। रविले कास्की अदालत परिसरको भाषण एउटा कारकका रुपमा अहिले एमालेका नेताले लिन थालेका छन्। खासगरी प्रधानमन्त्री ओलीले। उनले झापामा भने,‘देश बनाउनु भनेको सहकारी ठगी गर्नु जस्तो होइन।’
ओलीको यो भनाईले तत्कालै रास्वपासँग सहकार्य हुन सक्तैन भन्ने स्पष्ट आधार देखाएको छ।
अब अर्को विकल्प मध्यावधी चुनाव हो। प्रचण्ड, माधव नेपालसहित कांग्रेस तयार हुने अवस्था छैन यसअघिको सदन विघटनविरुद्धको आन्दोलनका कारण नैतिक सङ्कट हुनेछ।
यसैकारण पनि ०८४ सम्म जाने विकल्प देखिँदैन। प्रचण्डको अबको राजनीतिक हिसाबकिताब भनेको चुनावी रणनीतिमा नै केन्द्रित देखिन थाल्नु त्यसको उदाहरण हो।