वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
काठमाडौँ- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२५ घर भई काठमाडौँ टोखा नगरपालिका-६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रूपन्देही देवदह नगरपालिका-१२ घर भई काठमाडौँ महानगरपालिका-२८ बस्ने ३२ वर्षीया गीता कुँवर र काठमाडौँ महानगरपालिका बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एण्ड स्टडी इन्फो सेन्टरका संचालिका सिराहा, सिरहा नगरपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-२२ बस्ने ३० वर्षीया दिव्या यादव रहेका छन् ।
उनीहरूले रोमानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रुपैयाँ र ८ जना पीडितहरूबाट १६ लाख ५ हजार रुपैयाँ र अर्को एक जना पीडितबाट ५ लाख १५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो ।
उक्त पीडितहरूले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएकोमार्फत टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौँबाट सोमबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।