Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्थिरता, स्थायित्व र सुशासनका लागि वर्तमान सरकार बनेको हो : प्रधानमन्त्री

बुधबार, मंसिर २६, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थिरता, स्थायित्व र सुशासन दिन वर्तमान सरकार बनेको बताएका छन् ।

बुधबार तेह्रथुममा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशलाई विकासको गतिमा अघि बढाउने संकल्पसहित वर्तमान सरकार बनेको बताएका हुन् ।

‘देशको अप्ठ्यारो स्थितिलाई हेरेर ठूला राजनीतिक दलहरू, इतिहास बोकेका, जिम्मेवार राजनीतिक दलहरू नेपाली काँग्रेस, नेकपा एमाले मिलेर यो सरकार बनेको छ । यसले देशमा स्थिरता, स्थायित्व ल्याउने, देशमा सुशासन दिने, देशलाई विकासको गतिमा अघि बढाउने, त्यो संकल्प गरेको छ,’ उनले भने ।

उनले आफूले अघिल्लो कार्यकालमा देशभर ३९६ वटा १५ शय्याको अस्पताल निर्माण गर्न सुरु गरेको र अहिले सयभन्दा बढी सञ्चालन भइरहेको उल्लेख गरे । उनले आफू प्रधानमन्त्रीबाट हटेको दिनदेखि देशमा विकास निर्माणका कामको गति रोकिएको दाबी गरे ।

‘१५ बेडको अस्पताल मैले एकै पटक देशभर ३९६ वटाको शिलान्यास गरेको थिएँ । त्यसका लागि बजेट छुट्याएको थियो । जसमा अहिले लगभग सय वटा अस्पतालहरू चलिसके होलान् । मैले नै अहिले आएर धेरै वटा उद्घाटन पनि गरेँ । म हिँडे देश हिँड्न छोड्यो, म प्रधानमन्त्रीबाट हटेँ देश हिँड्न छोड्यो । म आएको छु, फेरि देश हिँड्छ, उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले देशभरका सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  २०:१५
प्रतिक्रिया दिनुहोस्