Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिविलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउन प्रधानमन्त्रीको निर्देशन

बिहीबार, मंसिर २७, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्नेगरी रिक्त डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न निर्देशन दिएका छन् । 

त्रिभुवन विश्वविद्यालयको बिहीबार कीर्तिपुरमा भएको साधारणसभा (सिनेट) बैठकमा कुलपति ओलीले विश्वविद्यालय चलाउने कामको नेतृत्व उपकुलतिले गर्ने स्मरण गराए ।

प्रधानमन्त्री ओलीले विश्वविद्यालय चल्न सक्नेगरी निष्पक्ष र साँच्चैको मेरिटोक्रेसीमा रहनेगरी काम गर्न उपकुलपतिलाई आफूले भन्दै आएको बताए । बैठकमा सिनेट सदस्यले सिफारिस भइसकेका डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति नभएको भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले आउँदो पुस ७ गतेभित्र ती नियुक्ति गरिसक्न निर्देशन दिए ।

'सबैले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकुन्, सिङ्गो सामाजिक विषय शिक्षामा आउनुपर्‍यो । शिक्षा क्षेत्र मुक्तमनले चल्नुपर्छ तर त्रिवि आफ्ना नियम र कानुनको परिधिमा रहेर चल्लुपर्छ । त्रिविको स्वायत्तता व्यक्तिगत होइन, त्यो स्वायत्तता सिनेटमार्फत अधिकार प्रत्यायोजन गर्दै लगिने विषय हो,' प्रधानमन्त्री ओलीले भने, 'त्रिविमा मेरिटोक्रेसी हुनु राम्रो हो तर त्यो साँच्चैको हुनुपर्छ । त्यसका नाममा ड्रामा चल्नु हुनु हुँदैन । कुलपतिले हस्तक्षेप गरेको भनेर मिडियाबाजी पनि गरिएको छ, सही कुरामा कुलपतिका हैसियतले मैले भूमिका निर्वाह गर्नैपर्छ । मबाट हस्तक्षेप हुँदैन तर मेरिटोक्रेसी हुनुपर्छ भनेर मैले भनेको छु ।'

प्रधानमन्त्री ओलीको प्रश्न थियो, 'उपकुलपतिलाई त्यसो भन्नु मेरो कर्तव्य होइन र ?' उनले सिनेट बैठकहरूलाई दिनभर छलफल र विवाद गर्ने ढाँचामा नभई मर्यादित, व्यवस्थित, रचनात्मक र परिपक्व रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै पर्याप्त गृहकार्य गरेर कार्यसूची ल्याउन पदाधिकारीहरूलाई आग्रह गरे ।

सिनेटका सदस्यहरूले पनि सकारात्मक परिणाम ल्याउने कार्यसूची ल्याउन सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । सभामा सामुदायिक क्याम्पस, प्राध्यापक, कर्मचारी, विद्यार्थी क्षेत्रका प्रतिनिधिले पदाधिकारीबाट पर्याप्त गृहकार्यबिना प्रस्तावहरू प्रस्तुत भएको र त्रिविको विधिलाई पालना नगरिएको भन्दै असन्तुष्टि जनाएपछि कुलपति ओलीले कार्यसूचीमाथि छलफल सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्