चार महिनामा सवा पाँच खर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं- चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सवा पाँच खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा विप्रेषण आप्रवाहमा ९.१ प्रतिशतले वृद्धि भई पाँच खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको हो ।
तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह तीन अर्ब ६० करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पाँच खर्ब ६८ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय पाँच खर्ब २१ अर्ब ४३ करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ३७ हजार ४७५ र ६८ हजार ८४१ थियो ।